Skip to content
Prabhu

साताको सेयरः सातामा ७.३० प्रतिशत बढ्यो नेप्से, औसत कारोबार १९ अर्ब बढी

काठमाडौं । यस साता नेप्से परिसूचक ७.३० प्रतिशतले बढेको छ । गत साता २५६८ दशमलवम १३ विन्दुमा बन्द भएको नेप्से यो साता ७.३० प्रतिशत अर्थात १८७ दशमलव ४९ अंक बढेर २७५५ दशमलव ६२ विन्दुमा पुगेको हो ।

पछिल्लो समय सेयर बजार लगातार रुपमा बढी रहेको छ । परिसूचकसँग कारोबार रकममा पनि उल्लेख्य वृद्धि भइरहेको छ । यो साता सेयर बजारमा कारोबार रकमले रेकर्ड नै बनाएको छ । यो साता नेप्से २८०० विन्दु छोएर फर्किएको हो । साताको अन्तिम कारोबार दिन इन्ट्रा डेमा नेप्से २८०५ विन्दुसम्म पुगेको थियो ।

साताको ५ करोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन सेयर बजारमा सामान्य करेक्सन भएको थियो । यो साताको पहिलो कारोबार दिन नै नेप्से तेहेरो अंकले बढेर कारोबार बन्द भएको थियो । त्यो दिन नेप्सेमा ११३ अंकको वृद्धि भएको थियो । त्यो दिन सेयर बजारमा दुई पटक सर्किट लागेर कारोबार रोकिएको थियो ।

यस साता सेन्सेटिभ इण्डेक्स ७.११ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ७.६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.३३ प्रतिशत बढेको छ ।

नेप्सेसँगै यो साता दैनिक औसत कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औसतमा १४ अर्ब ७२ करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औसतमा १९ अर्ब २६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यस साता नेप्सेले कारोबार रकममा अल टाइम हाइ रकर्ड बनाएको छ ।

अघिल्लो बुलमा एक दिनमा अधिकतममा २१ अर्ब ५३ करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साताको बुधबार २१ अर्ब ९१ करोडको सेयर कारोबार भएको थियो । त्यस्तै, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा २१ अर्ब ७१ करोडको सेयर कारोबार भएको छ । यी दुवै कारोबार रकम अघिल्लो बुलको उच्च रकमभन्दा बढी हो ।

यो साता १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २०.३२ प्रतिशत बढेको छ । अंकका आधारमा भने यो साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १०७७ दशमलव ९३ अंक बढेको छ । सबैभन्दा कम बढ्नेमा भने यो साता उत्पादन तथा प्रशोधन उपसमूह रहेको छ । सो उपसमूहको परिसूचक यस साता १.०५ प्रतिशत बढेको छ।

यो साता लघुवित्त र व्यापार उपसमूहको परिसूचक भने घटेका छन् । यी दुबै उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेका छन् । व्यापार उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.४५ प्रतिशत घटेको छ । अंकका आधारमा भने लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १७४ दशमलव ३१ अंक घटेको छ ।

सर्वाधिक सेयर मूल्य बढ्ने कम्पनीको शीर्ष स्थानमा नेपाल फाइनान्स रहेको छ । सो फाइनान्सको सेयर मूल्य यस साता ५५.०८ प्रतिशत बढेको हो । त्यस्तै, यस साता प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्य करिब साढे ३२ प्रतिशत बढेको छ भने हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य साढे ३१ प्रतिशतभन्दा बढी बढेको छ । यस साता सबैभन्दा बढी सेयरमूल्य घटेको स्टक भने गणपति माइक्रोफाइनान्स हो । सो लघुवित्तको सेयरमूल्य यस साता १५.९६ प्रतिशत घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal