Skip to content

ढोरपाटनमा सामूहिक स्याउखेती

nabil bank

बागलुङ । स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत रूपमा हुँदै आएको स्याउखेतीले बजार लिन नसकेपछि इटालीबाट ल्याएको आधुनिक स्याउका बिरुवाले ढोरपाटन उपत्यका क्षेत्रको जग्गा विस्तारै ओगट्न थालेको छ ।

ढोरपाटन नगरपालिका–९ मसगाउँमा ६ युवा मिलेर एक वर्षदेखि स्याउखेती गर्न थालेका छन् । इटालीबाट ल्याएका स्याउका एक हजार तीन सय बिरुवा गत असारमा लगाइएको थियो । उक्त बिरुवामध्ये ७५ प्रतिशतले यसै वर्षदेखि फल दिन थालेपछि यहाँका युवा उत्साहित भएका छन् । ढोरपाटन नगरपालिका–८ शेराबाङका ४० वर्षीय चिरनकुमार घर्ती २०६० सालमा रोजगारीका लागि कतार गए । सात वर्ष कतार बसेर फर्कनुभएका उनलाई नेपालमै केही गर्ने सोच पलाएपछि २०६८ सालमा काठमाडौँमा कृषि फार्म खोल्नुभयो । घाटा व्यहोरेपछि घर्ती ढोरपाटन फर्किए ।

गाउँमा आएर कृषि पेसालाई निरन्तरता दिँदै आउनुभएका घर्तीलाई स्थानीय हुमलाल भुसालले साथ दिए । कृषिमा खाएको हन्डरले उनलाई विस्तारै सफल बनाउन थालेको छ । दुवैको सोच गाउँमै कृषिसम्बन्धी काम गर्ने भएकाले २०७६ सालमा ‘उत्तरगङ्गा अग्र्यानिक एग्रो प्रालि’ दर्ता गरेर आलुको बजारीकरण गर्न थाले । उनीहरुले अन्य युवालाई पनि समेत समेट्दै गए । उनीहरुले गत वर्षदेखि आलुखेतीसँगै स्याउखेती पनि गर्न थालेका छन ।

मसगाउँमा विभिन्न उन्नत जातका आलुको परीक्षण सफल भएपछि उत्साहित बनेका दुई युवाले थप चार युवालाई साथमा लिएर एक सय रोपनी जग्गामा उन्नत जातका स्याउ लगाउने निधो गरे । चिरन र हुमलालले रुद्र घर्ती, चकेन्द्र घर्ती, कमानसिंह बुढा र झिरमती घर्तीसँग मिलेर एक सय रोपनीमा स्याउ बगैँचा तयार गरेका छन् । उनीहरूले पहिलो चरणमा एक हजार तीन सय स्याउका बिरुवा लगाएकामा नौ सय बिरुवामा स्याउ फल्न थालेको छ ।

“एकदेखि दुई किलोका दरले स्याउ फल्न थालेको छ, इटालीबाट झिकाएका स्याउका बोट साना–साना हुन्छन्, पाँच वर्षपछि मात्रै प्रतिबोटमा २५ किलोसम्म स्याउ फल्छ”, चिरनकुमारले भने, “ढोरपाटनमा स्याउको अत्यन्तै सम्भावना छ, मसगाउँमा एक हजार स्याउका पुराना बोट छन् । तर उत्पादन कम छ, उन्नत जातको स्याउबाट छोटो समयमा धेरै लाभ लिन सकिन्छ ।”

एक सय रोपनी जग्गामा स्याउ बगैँचा तयार पार्ने तथा उन्नत जातको आलुको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्य रहेको घर्तीले जानकारी दिए । ६ जनामध्ये हुमलालबाहेक सबै विदेशमा दुःख पाएर फर्केका युवा भएकाले स्याउखेतीमा मेहनत गरिरहेका छन् । कृषि विकास निर्देशनालय पोखराले पनि उनीहरुलाई सहयोग गरिरहेको छ । इटालीबाट ल्याएको गाला, फुजी, गोल्डेन र रेड जातको स्याउका बिरुवा लगाइएको छ । चक्लाबन्दीअन्तर्गत स्याउ बगैँचा निर्माण गरेर तारबार गर्दा सुरुको लागत बढी भएको चिरनकुमारको भनाइ छ ।

युवा जनशक्तिको बढ्दो वैदेशिक पलायन तथा कृषि व्यवसायतर्फ युवाको आकर्षण कम हुँदै जाँदा ६ युवा मिलेर दुर्गम गाउँमा स्याउ र आलुखेतीको सम्भावना खोजिरहेका छन् । पहिलो चरणमा रु २५ लाख लगानी गरेको उनीहरू बताउँछन् । गण्डकी प्रदेश कृषि निर्देशनालयबाट ७५ प्रतिशत अनुदान र कृषि ज्ञान केन्द्रबाट स्याउलाई थाक्रो र तारबारमा ५० प्रतिशत अनुदानमा प्राप्त भएको चिरनकुमारले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi