Skip to content

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : डा. शेखर कोइराला

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा कुलप्रसाद कोइरालाद्वारा लिखित ‘आफ्नो बाटो, आफ्नै पाइला’ आत्मवृत्तान्त र ‘एक्काको जोडा एक्का’ कथासङ्ग्रहको आज विमोचन गर्दै उनले मुलुकमा राजनीतिक स्थिरताका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

संविधान संशोधन गर्दा संविधानको मर्मलाई भने बिर्सन नहुने डा.कोइरालाको भनाइ थियो । ‘निर्वाचन प्रणाली परिवर्तन गर्दा संविधानले व्याख्या गरेजस्तो सबै जातजातिको प्रतिनिधित्व हुनुपर्छ, संविधानमा भएको आरक्षणको सिटलाई सुनिश्चित गराउनुपर्छ तर एक पार्टीको बहुमत कसरी आउँछ भन्ने कुरालाई ख्याल गरेर संशोधन गर्नुपर्ने आवश्यकता छ’, उनले भने ।

प्रतिनिधिसभा सांसद समेत रहेका नेता डा.कोइरालाले अहिलेको अवस्थामा सबै दललाई साथमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । यसैगरी उनले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सम्पूर्ण ध्यान केन्द्रीत गर्न सरकारलाई आग्रह पनि गरे । बङ्गलादेशको घटनाले आमनेपालीलाई चिन्तित बनाएको उल्लेख गर्नुहुँदै डा.कोइरालाले नेपालमा पनि जनआक्रोस बढ्न नदिन जनभावनाअनुसार काम गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि कांग्रेस–एमाले गठबन्धन निर्माण भएको छ । अब पनि जनआकांक्षा अनुसार काम गर्न सकिएन भने निराशा र जनआक्रोस बढ्नसक्छ । यसर्थ अहिलेको सरकारले प्राप्त अवसर र विश्वास गुम्न दिनुहुँदैन’, उनले भने । नयाँ कृति प्रकाशन गरेकामा प्रा डा कोइरालालाई उहाँले बधाई तथा शुभकामना समेत दिए ।

पुस्तकका लेखक प्रा.डा.कोइरालाले जीवनमा भोगेका भोगाइ र गरेका कामलाई पुस्तकमार्फत आम पाठकमाझ प्रस्तुत गरेको बताए । उनले अर्को वर्ष थप दुई पुस्तक प्रकाशनमा ल्याउने तयारी रहेको जानकारी दिए । दुई पुस्तकमाथि चर्चा गर्दै प्राध्यापक पुरुषोत्तम दाहाल र कलानिधी दाहालले प्रा.डा.कोइरालाको कृतिभित्र जीवनको यात्रा सुरूदेखि हालसम्मको अवस्थालाई चित्रण गरिएको बताए । प्रा.डा. कोइराला आफ्नो काममा निरन्तर लाग्ने व्यक्ति भएको उनीहरुको भनाइ थियो ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमल्सिना, त्रिभुवन विश्वविद्यालय रत्नराज्य लक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा जीवनधर ज्ञवाली, प्रजातान्त्रिक विचार समाजका पूर्वअध्यक्ष डा.केदारनरसिंह केसी, त्रिचन्द्र क्याम्पसकी प्राध्यापक उषा अधिकारीलगायतले प्रा.डा.कोइरालाको कृतिले नेपाली भाषा र साहित्यको क्षेत्रमा नयाँ इँटा थपिएको बताएका छन् । उनीहरूले मानिस मरेर गए पनि सिर्जना कहिल्यै नमर्ने भएकाले अझ थप कृति ल्याउन शुभकामना समेत दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime