Skip to content
Prabhu

किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपन्क्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन गरे ।

सो मन्त्रालयको कुल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुदानमा रहेको छ । किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै मन्त्रालयले खरिद प्रक्रियालाई सरलीकरण बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको थियो ।

प्रधानमन्त्री ओलीले किसानलाई नाफा हुने खालका खेती मात्रै गर्ने वातावरण सृजनाका लागि उपयुुक्त जग्गामा सामूूहिक खेती प्रणालीमा जान सुझाव दिँदै स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गरे । प्रधानमन्त्री ओलीले माछापालन, दूध उत्पादन, सुन्तला, काजुु, ल्याङ र मसलालगायत उपयुक्त खेतीका लागि कहाँ–कहाँ के के गर्न सकिन्छ भन्ने स्पष्ट योजना ल्याउन निर्देशन दिए।

‘म कृषि विज्ञ होइन । किसानको छोरा हुँ । सानो हुँदा खेती गरिन्थ्यो, ठूलो भएपछि भ्याइएन तर मेरो रगतमा किसानको जिन छ । म बोट बिरुवालाई माया गर्छु । मलाई बोट बिरुवाले माया गर्छन् ।’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले बोट बिरुवालाई माया गरेका उनीहरु खुसी भएर धेरै फल दिन्छन् ।”

उनले पशुपन्क्षी नेपालभित्र ल्याउँदा र विदेश पठाउँदा स्वास्थ्य जाँच अनिवार्य गराउन, आगामी तीन वर्षभित्र खोरेत रोग उन्मूलन गर्न, कालोबजारी रोक्न, अनुदानको निरन्तरताभन्दा पनि लाभग्राहीले तिर्ने परिपाटीमा जान पनि सुझाव दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal