Skip to content

सिन्धुपाल्चोकको तिपेनीमा सुक्खा पहिरो, इन्द्रावती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

nabil bank

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ तिपेनी बजारस्थित पाँचपोखरी प्राथमिक अस्पतालनजिकै आएको सुक्खा पहिरोका कारण इन्द्रावती नदीको केही भाग थुनिएको छ।

सोमबार तिपेनीमा सुक्खा पहिरो गएका कारण इन्द्रावती नदीको केही भाग थुनिएको प्रहरीले जनाएको छ। ‘अहिले पनि ढुङ्गा माटो खस्ने क्रम रोकिएको छैन,’ पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाले भने, ‘पहिरोका कारण प्राथमिक अस्पताल, तिपेनी बजार र तिपेनीबाट तल रहेको नदी तटीय क्षेत्र उच्च जोखिममा छ।’

घटना स्थलमा अहिले जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले घटनास्थलको निरीक्षण गरिरहेका छन्। पहिरोको उच्च जोखिममा रहेको अस्पतालको सामग्री सार्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ।

सो सुक्खा पहिरोका कारण तिपेनीलगायत तटीय क्षेत्रका नागरिकहरू त्रसित भएका छन्। पहिरोका कारण पाँचपोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ भने खोला थुनिएमा तिपेनी बजार, नेशनल हाइड्रोपावर, मेलम्ची बजार लगायतको नदी तटीय क्षेत्रमा प्रत्यक्ष असर गर्ने पालिका अध्यक्ष लामाले बताए।

पहिरो खसेको भागमा ढुंगा, गेग्रान, माटो थुप्रिएर बसेका कारण थप ठूलो मात्रामा पहिरो झरेमा नदी थुनिने र त्यसले थप क्षति निम्त्याउने लामाले बताए।

यसैबीच जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले समेत सूचना निकालेर पाँचपोखरी थाङ्पाल गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका नदी तटीय क्षेत्रमा बस्ने स्थानीयलाई सचेत रहन आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi