Skip to content
Prabhu

मनसुनी विपद्ः पछिल्लो २४ घण्टामा ८ ले ज्यान गुमाएसँगै आजसम्म १९० जनाको मृत्यु

काठमाडौं । भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपद्मा परेर आजसम्म एक सय ९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा आजसम्म १ सय ९० जनाको मृत्यभएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

प्राप्त विवरणअनुसार काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको ज्यान गएको छ ।

प्रवक्ता कार्कीकानुसार काठमाडौं उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी दुई सय ३८ जना विभिन्न विपद्मा परी घाइते भएका छन् ।

सोही अवधिमा एक सय १४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेश प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

बाढीका कारण आजसम्म तीन सय ८४ घर डुवानमा परेका, तीन सय २७ घर, एक सय १२ गोठ, ५१ पुल, चार विद्यालय दुई सरकारी कार्यालयमा क्षति भएको छ । यस्तै, चार हजार आठ सय १९ परिवार विपद्का घटनाबाट विस्थापित भएका प्रहरीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal