Skip to content
Prabhu

विपद् उद्धारका लागि विमान उपलब्ध गराउने अमेरिकी प्रतिबद्धता

काठमाडौं । संयुक्त राज्य अमेरिकाले विपद् उद्धार तथा राहत कार्यमा सहयोग गर्न नेपाललाई विमान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

विमान उपलब्ध गराउने दिशामा अमेरिकी विदेश मन्त्रालयअन्तर्गतका तीन ओटा विभिन्न अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त भएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । दुई देशहरूबीचको दौत्य सम्बन्धलाई सुदृढ तुल्याउने क्रममा उक्त सहयोगको प्रतिबद्धता व्यक्त गरिएको हो ।

सन् २०२१ मा अमेरिकाले सन् २०२५ जनवरीसम्म तीन करोड ७० लाख डलर बराबरका दुई ओटा एम२८ स्काइट्रक उपलब्ध गराउने सहमति भएको दूतावासले जनाएको छ । ‘छोटा धावनमार्गमा उडान र अवतरण गर्नसक्ने क्षमता भएका स्थिर पखेटा भएका विमान हुन् । यीमध्येको एउटा विमान हवाई एम्बुलेन्स हो’, दूतावासले भनेको छ । यस अनुदान कार्यक्रममा विमानचालक र मर्मतकर्ताका लागि तालिमको व्यवस्थाका साथै पाटपुर्जा सहयोग समेत समावेश गरिएको छ ।

सन् २०२२ मा अमेरिकाले नेपाललाई दुई ओटा बेल ४१२ हेलिकप्टर उपलब्ध गराउन सहमति जनाएको थियो । ती हेलिकप्टरहरू आगामी केही वर्षमा उपलब्ध हुने अपेक्षा गरिएको छ । चार करोड ४० लाख डलरको उक्त अनुदान कार्यक्रममा विमानचालक र मर्मतकर्ताका लागि तालिमको व्यवस्थाका साथै बन्दोबस्ती सहयोगसमेत समावेश गरिएको छ ।

व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माले गत साता आफ्नो नेपाल भ्रमणका क्रममा अमेरिकाले अतिरिक्त हेलिकप्टर, तालिम र सहायता उपकरणका लागि थप १० करोड डलरको अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। यद्यपि, उक्त सहायता अमेरिकी कंग्रेसबाट सूचना प्राप्त भई आर्थिक स्रोतको उपलब्धता सुनिश्चित भएपछि प्रदान गरिने दूतावासको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal