Skip to content

पोखराका डेरी पसल तथा उद्योगमा अनुगमन

nabil bank

गण्डकी । पोखरा महानगरपालिकाले दूध बिक्री गर्ने डेरी पसल र उद्योगमा आज अनुगमन गरेको छ । दूधमा मिसावट र मूल्य बढी लिएको गुनासो आएसँगै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरिएको हो ।

अनुगमन टोलीले पोखरा महानगरपालिका–१० इन्द्रचोकस्थित ग्लोबल डेरी प्रालि, सुजल डेरी प्रालिको सफल दूध उद्योग, पोखरा महानगरपालिका–१२ शीतलादेवीस्थित सागर नर्सरी एन्ड एग्रो प्रोडक्ट, वडा नं १० स्थित हस्पिटलचोकको ढोंडबेँसी डेरी तथा बेकरी र पोखरा पर्स्याङस्थित हेमजा गाई फारम प्रालिमा अनुगमन गरेको हो ।

अनुगमन टोलीले ती डेरीबाट परीक्षणका लागि दूध तथा दुग्धजन्य पदार्थको नमूना संकलन गरेको अनुुगमन समिति सदस्यसचिव अनिल कार्कीले जानकारी दिए । टोलीले पसलमा मूल्यसूची राखे÷नराखेको, साइनबोर्ड भए÷नभएको, व्यवसाय दर्ता तथा नवीकरण, नापतौलको प्रमाण, सामानमा लेभल, म्याद नाघेको सामान, पान वा भ्याट दर्ता, बिक्री बिल दिने प्रक्रिया, खाद्य अनुज्ञापत्र र पसल सञ्चालनका लागि आवश्यक मापदण्डको पालना, सरसफाइको अवस्थालाई आधार मानेर अनुगमन गरेको हो ।

अनुगमनमा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुुख मनहर कडरिया, महानगर पशु शाखा अधिकृत नवराज अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य निरीक्षक सविना सुनार, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेलगायत रहेका थिए। अनुगमनमा दिइएको विभिन्न निर्देशन पालना नभएको पाइए कानुनबमोजिम कारबाही गर्ने चेतावनी महानगरले दिएको छ ।

उपभोक्त हितलाई दृष्टिगत गर्दै पोखरा महानगरले अनुगमनलाई तीव्र पारेको उपप्रमुख एवम् अनुगमन समिति संयोजक मञ्जुदेवी गुरुङले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime