Skip to content
Prabhu

इच्छाकामनाको स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण

चितवन । चितवनको स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित सिमलढाप र बाघखोर जोड्ने स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको हो ।

पुलको शुक्रबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गरे । सो अवसरमा उनले पुल निर्माणपछि बर्खाको समयमा बाढीका कारण आवतजावत गर्न नपाउने अवस्थाको अन्त्य भएको बताए । ‘पुल निर्माणपछि यहाँका नागरिक अब निकै लाभान्वित हुनेछन्’, उनले भने, ‘धेरै वर्षअघि निर्माण हुनुपर्ने पुल हाम्रो कार्याकालमा निर्माण भएको छ ।’

उनले पुल निर्माणपछि वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयमा आवतजावत गर्नका लागि यहाँका बासिन्दालाई सहज हुने बताए। अध्यक्ष गुरुङले समयमै पुल निर्माण सम्पन्न गर्न खटिने उपभोक्ता समिति र स्थानीयलाई धन्यवाद दिए ।

पालिकाले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको भन्दै उनले यस वर्ष पनि सबै योजना समयमै निर्माण सम्पन्न गरिने बताए । उनले गाउँघरमा भएका विकास निर्माणका काममा अनुगमन र खबरदारी गरिरहन स्थानीयलाई अनुरोध गरे ।

पुल निर्माणपछि सिमलढाप, पिपलटार, बाघखोर, लोसे, स्याङ्दी, सुन्दरबस्ती र गर्दासका नागरिक लाभाम्वित भएका छन् । एक सय २० मिटर लामो पुल गाउँपालिका र पिटिएपी बागमती प्रदेशको लगानीमा निर्माण भएको हो । पुल निर्माणका लागि १ करोड छ लाख ९७ हजार रुपैयाँ बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

उनका अनुसार पुल निर्माणमा श्रमदानसहित उपभोक्ता समितिको रु ५५ लाख लागत परेको छ । प्राविधिक र निर्माण सामग्री गाउँपालिकाले उपभोक्ता समितिलाई उपलब्ध गराएको बस्नेतले बताए । विसं २०८० माघ ११ गते निर्माण सम्झौता भएर २०८१ असार मसान्तभित्र निर्धारित समयमै पुल निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।

बर्खाको समय र केही प्राविधिक कारणले उद्घाटनमा ढिलाइ भएको उनले बताए । यसवर्ष पनि स्याङ्दी खोलाको संरक्षणका लागि बजेट विनियोजन भएको बस्नेतले जानकारी दिनुभयो । यस क्षेत्रमा आदिवासी गुरुङ, तामाङ लगायतका समुदायको बाहुल्यता छ । गाउँपालिकाको समथर भूभाग भएको वडा भएका कारण पनि यहाँ आएर बसोबास गर्नेक्रम बढ्दो छ ।

गाउँपालिका उपाध्यक्ष माया सिलवालले पुलको भरपुर सदुपयोग र संरक्षणका लागि नियमित निगरानी गरिराख्न स्थानीयलाई अनुरोध गरे । उनले निर्वाचनका क्रममा जनतासँग गरेका बाचा क्रमशः पूरा हुने चरणमा रहेको भन्दै नागरिकका आवश्यकताका आधारमा काम गरिरहेको बताए ।

गाउँपालिकामा पहिलोपटक सस्पेन्डेड पुल निर्माण गरिएको पालिकाका सवइञ्जिनियर भरत गुरुङले जानकारी दिए । उनले पुलको नियमित मर्मत र रेखदेखका लागि हेरालु राखिने बताए । पुल निर्माण भएपछि स्थानिय बासिन्दा खुसी भएका छन् । दैनिक खोला तरेर स्कुल जाने गरेका सन्देश चेपाङ पुल निर्माण भएपछि उत्साहित भएको बताए । उनले वर्खाको समयमा पुल नहुँदा धेरैपटक स्कूल जान नपाएको भन्दै अब भने नियमित स्कूल जान पाइने हुँदा पढाइमा सहजता हुने बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal