Skip to content
Prabhu

सीपयुक्त शिक्षा समृद्धिको पहिलो खुड्किलोः मन्त्री भण्डारी

महोत्तरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त शिक्षा समृद्धिको पहिलो खुड्किलो भएकाले नयाँ पुस्तालाई सोही अनुसारको शिक्षामा जोडिन अपिल गरेका छन् । मटिहानी नगरपालिका–८ स्थित राम माध्यमिक विद्यालयमा आज कक्षा १२ का छात्राहरूलाई साइकल वितरण कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि सीपयुक्त शिक्षा अपरिहार्य रहेको बताए ।

अबको अर्जुनदृष्टि मुलुकको समृद्धि भएकाले त्यसका लागि सीपयुक्त जनशक्ति चाहिएकाले सोहीअनुसारको शिक्षा दिन विद्यालयलाई उहाँले आग्रह गरे । ‘मुलुकको समृद्धिका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने आवश्यकता छ । अब शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृद्धिसँँग जोड्ने गरी सबै लागौँ । अबको पुस्ताले औपचारिक शिक्षाभन्दा प्राविधिक शिक्षामा जोड दिनुपर्छ’, मन्त्री भण्डारीले भने । सरकार पनि यही भावना र मार्गचित्रका साथ अघि बढेको उनको भनाइ थियो ।

मन्त्री भण्डारीले यसअघिका स्थिर सरकार हुन नसक्दा आर्थिक गतिविधिसमेत बढ्न नसकेको उल्लेख गर्दै हाल त्यो अवस्था अन्त्य भएकाले निर्धक्क भएर आआफ्नो जिम्मेवारी पूरा गर्न सम्बद्ध पक्षलाई आग्रह गरे । ‘अहिलेको सरकार बनेपछि राजनीतिक स्थायित्व हुने सन्देश प्रवाह भएको छ’, उनले भने, ‘यससँगै आर्थिक गतिविधि बढेका छन् । प्रधानमन्त्रीले पनि बरम्बार अहिलेको सरकारलाई असफल हुने छुट नरहेको बताइरहेकाले सोहीअनुसार हामी सबैले आफ्नो क्षेत्रमा उत्कृष्ट काम गर्न लाग्नुपर्छ ।’

मटिहानी नगरपालिकाले उच्च शिक्षामा छोरीको पहुँच बढाउन विसं २०७५ देखि कक्षा ११ का छात्रालाई साइकल वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरक्षेत्रमा कक्षा १२ सम्म पठनपाठन हुने राम माध्यमिक विद्यालयमा हालसम्म चार सय ८७ छात्राले साइकल प्राप्त गरिसकेका छन्। आज ६२ जनालाई साइकल वितरण गरिएको हो ।

नगरप्रमुख हरिप्रसाद मण्डलले अब राजकीय संस्कृत माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत छात्राका लागि पनि लागू गरिने बताए । साइकल प्राप्त गरेकी हीना खातुनले नगरपालिकाबाट साइकल पाएपछि अब आफूहरुलाई विद्यालय आउजाउमा निकै सहज हुने बताए ।

साइकल वितरण समारोहमा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्री र प्रधानमन्त्री रोजगार कार्यक्रमका डण्डुराज अधिकारीसहितको उपस्थिति रहेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal