Skip to content
Prabhu

सेयर बजार राताम्य, परिसूचक १११ अंकले घट्दा कारोबार रकम पनि १८ अर्ब मात्रै

काठमाडौं । साताको दोस्रो कारोबारका दिन मंगलबार सेयर बजारमा ठूलो पहिरो गएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार तेहेरो अंकले घटेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १११ दशमलव ९६ अंकले घटेर बन्द भएको हो ।

मंगलबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक पनि २८०० विन्दुबाट तल झरेको छ । मंगलबार नेप्से परिसूचक २७८२ दशमलव ६० विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा ३.८६ प्रतिशतले कम हो ।

सेयर बजार पछिल्लो दुई कारोबार दिनमा नेप्से १९२ दशमलव ०४ अंकले घटेको छ । गत हप्ताको बिहीबार २९७४ दशमलव ६४ विन्दुमा सेयर कारोबार बन्द भएको थियो । आइतबार पनि ७९ दशमलव ८८ अंकले घटेको सेयर बजार आज पनि उच्च अंकले नै घटेको हो ।

कारोबार खुलेको पहिलो मिनेटमा नै २९९९ दशमलव ९८ विन्दुमा पुगेको सेयर बजार परिसूचक कारोबार बन्द हुँदा २७८३ दशमलव ६० पुगेको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनी मध्ये २२३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज २० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन आइतबार १९ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज १८ अर्बभन्दा बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३३० कम्पनीका ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर २ लाख ३४ हजार ३६० पटक खरिद बिक्री हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २२ दशमलव ८७ अंकले घटेर ४९६ दशमलव ४७ विन्दुमा पुगेको छ । आज होटल र टुरिजम उपसूचक बाहेक सबै १२ उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।

आजको कारोबार बन्द हुँदा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal