Skip to content

तराईमा पनि कोदोको उत्पादन गर्न परीक्षण

नेपालगञ्ज । बाँकेको चिसापानीस्थित गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण सुरु गरिएको छ ।

राष्ट्रिय जिन बैंकको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण सुरु भएको सामुदायिक जिन बैंक कोहलपुरका संयोजक परमुल बस्नेतले जानकारी दिए । ‘करिब दुई कट्ठा क्षेत्रफलमा अलग–अलग प्लट बनाएर ९ जातका कोदोको परीक्षण गर्न कोदो रोपिएको छ’, संयोजक बस्नतेले भने ।

गएको साउन १६ गते कोदोको बीउ राखेर केही दिनअघि मात्रै कोदो रोपिएको हो । नौ जातका कोदो रोपिएको र सोमध्ये सबैभन्दा राम्रो कोदो किसानलाई रोप्न प्रेरित गरिने उल्लेख गर्दै उनले पूर्वी तराईका जिल्लामा सफल भएका स्थानीय जातको परीक्षण सुरु भएको बताए।

राष्ट्रिय जिन बैंकका प्राविधिक अधिकृत प्रदीप थापाले रैथाने बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण भएको उल्लेख गरे ।

परीक्षण गरिएका नौमध्ये पाँच जिन बैंकले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुईवटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेका र अन्य दुई किसानका जात रहेका छन् ।

अहिले लगाएको कोदोको प्रतिफल मङ्सिरसम्म आउने बताइएको छ । विसं २०७८ मा चिसापानीको गाभरमा सरकारले पहिलो सामुदायिक जिन बैंक स्थापना गरेको थियो । गाभरमा कोदो उत्पादनको प्रशस्त सम्भावना रहेको घरबास सञ्चालक सङ्घका महासचिव कृष्ण चौधरीले बताए । उनले हालसम्म नार्कले तराईमा समेत लगाउन सक्ने कोदोको जातको विकास गरेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T