Skip to content
Prabhu

कुलमानलाई हटाउने सरकारको कुनै योजना छैन: उर्जामन्त्री खड्का

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका नेता एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको कुनै योजना नरहेको बताएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ ले आज बाह्रविसेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कुलमानलाई सरकारसँग जोडेर अनेक प्रचारबाजी गरिएकामा चिन्ता व्यक्त गरे ।

मन्त्री खड्काले सबै नागरिक सम्पन्न हुँदा मात्र देश समृद्धि हुने भएकाले सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले मुलुकको आर्थिक विकासका लागि ऊर्जा क्षेत्रको विकास आवश्यक रहेकाले यसको विकासका लागि स्थानीयवासीको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

मन्त्री खड्काले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् विदेशी मुलुकमा निर्यात गर्ने सरकारको लक्ष्य रहेकाले यसलाई पूरा गर्न सरकार गम्भीर भएर लागेको बताए । सरकारले हाल भारतमा मात्र नौ सय ४१ मेगावाट विद्युत् निर्यात गरिरहेको भन्नुहुँदै चाँडै नै बङ्गलादेशमा विद्युत् निर्यात गर्ने गरी आश्वयक प्रक्रिया अगाडि बढाइने उनले प्रतिबद्धता व्यक्त गरे ।

उनले कुनै पनि जलविद्युत् तथा सिँचाइको आयोजनालाई समयमै सम्पन्न गर्नका लागि स्थानीय बासिन्दाको दबाबको खाँचो रहेको समेत बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको विकासका लागि नेपाली कांग्रेस प्रतिबद्ध भएर लागिरहेको बताए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal