Skip to content
Prabhu

कास्की जिल्ला प्रशासनमा ज्येष्ठ नागरिकलाई द्रुत सेवा

कास्की । जिल्ला प्रशासन कार्यालयको हाताभित्र ज्येष्ठ नागरिक विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्रको आजदेखि सञ्चालनमा ल्याइएको छ । कार्यालयमा सेवा लिन आउने ज्येष्ठ नागरिकलाई सहजताका लागि विश्रामकक्षमा नै पुगेर सेवा प्रदान गर्नेगरी कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

प्रशासनमा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिनका लागि दैनिक ५० देखि ६० जना ज्येष्ठ नागरिक आउने जनाइएको छ । प्रशासनले ज्येष्ठ नागरिकलाई लामो समय लाइनमा बस्नु नपर्ने गरी सेवा दिनका लागि ‘डेडिकेटेड लाइन’को व्यवस्था गरिने प्रजिअ पाण्डेले बताए।

स्वास्थ्य सहायता केन्द्रमा स्वास्थ्यकर्मीबाट उच्च रक्तचाप जाँच, तापक्रम जाँच, बेडको सुविधा तथा आवश्यक औषधि निःशुल्क प्रदान गरिनेछ । उनका अनुसार सेवा लिन पुग्ने ज्येष्ठ नागरिकको परीक्षणसहित स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श सेवा उपलब्ध गराइनेछ । “हामी ज्येष्ठ नागरिकलाई विश्रामकक्षसहित डेडिकेटेड लाइनबाट द्रुत सेवा दिनेछौँ । उहाँहरूको सामान्य स्वास्थ्य जाँचको समेत व्यवस्था गरेका छौँ । ज्येष्ठ नागरिकले लाइनमा नबसीकन नै सेवा पाउनुहुनेछ”, पाण्डेले भने ।

जिल्लास्थित आम नागरिक तथा ज्येष्ठ नागरिकको प्रत्यक्ष सरोकार रहने कार्यालयमा समेत ज्येष्ठ नागरिक विश्राम कक्ष स्थापना गर्ने कार्यको अनुसरण हुने विश्वास प्रमुख जिल्ला अधिकारी पाण्डेले व्यक्त गरे । ज्येष्ठ नागरिक विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्रको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले ज्येष्ठ नागरिकमैत्री कार्यको प्रशंसा गर्दै सञ्चालित कार्यको निरन्तरताको अपेक्षा गरे ।

उनले भने, ‘ज्येष्ठ नागरिक तथा आम नागरिकको प्रत्यक्ष सरोकार रहने कार्यालयमा विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा आउनु सकारात्मक रहेको छ । यसको अन्य कार्यालयले समेत अनुसरण गर्नुपर्दछ ।’ नागरिकलाई विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्रसहितको व्यवस्थाले सेवा प्रवाहमा सहजता ल्याउने विश्वास गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal