Skip to content
Prabhu

गोरखाको बुटार र चितवनको इच्छाकामनालाई जोड्ने ‘बेलिब्रिज’ सञ्चालन,  लागत १६ करोड

चितवन । गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलालाई जोड्ने त्रिशूली नदीमाथि बनेको मोटरेबल बेलिब्रिज सञ्चालनमा आएको छ ।

गोरखा सडक योजनाको समन्वयमा बुटारमा निर्माणाधीन १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनाका निर्माण कम्पनी ब्लु इनर्जी प्राइभेट लिमिटेडले उक्त बेलिब्रिज निर्माण गरिएको हो ।

आयोजनाका लागि आवश्यक सामान ढुवानीका लागि निर्माण गरिएको उक्त बेलिब्रिजको गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना र चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बुधबार संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

झोलुङ्गे पुलबाट उत्पादित कृषिजन्य सामग्री ल्याउनुपर्ने बाध्यता रहे पनि अबका दिनमा गाडीबाटै ढुवानी गर्न सकिने भएपछि गण्डकी गाउँपालिकाका स्थानीयलाई सहज भएको छ ।

इच्छाकामनाका विद्यालयमा अध्ययनका लागि गण्डकी गाउँपालिकाका तल्लो भेगका बालबालिकालाई विद्यालय आउन थप सहज पनि भएको छ । सो कम्पनीका निर्देशक निरञ्जन रेग्मीले १६ करोड १४ लाख खर्चेर पुल निर्माण गरिएको बताए।

उनका अनुसार पुलको लम्बाइ ११६ मिटर र चौडाइ ४।२ मिटर रहेको छ । यो बेलिब्रिज २० टन भारवहन क्षमताको रहेको छ । एकपटकमा एउटा गाडी मात्र आवतजावत गर्न मिल्ने उनले बताए ।

उनले यो बेलिब्रिजले यहाँका स्थानीयको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे। कम्पनीको सामान मात्र ढुवानी गर्न नभई स्थानीयलाई सहजता भएको बताए । उनले हाइड्रोपावर निर्माणसँगै इच्छाकामना र गण्डकी गाउँपालिकाको विकासमा कम्पनीले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal