Skip to content

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री लेखक

nabil bank

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज शुक्लाफाँटा नगरपालिका–१० झलारीमा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उनले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच समिकरण बनाइ स्थिर सरकार गठन भएको बताए ।

‘सरकार अस्थिर हुँदा नयाँ समीकरण बन्ने भत्किने अवस्था थियो’, उनले भने, ‘सेवाप्रवाह ठिक ढंगले हुन सकेन, विकास निर्माणसँगै सुशासन अगाडि बढ्न पाएका थिएनन् ।’ सातबुँदे सहमतिको जगमा बनेको सरकारले देशमा भ्रष्ट्राचार नियमन गरी सुशासनको प्रत्याभूति दिने र दिगो शान्ति सुरक्षा प्रदान गर्न कटिबद्ध भएर अगाडि बढ्ने उनको भनाइ छ ।

संविधानको कार्यान्वयन ठिक ढंगले गर्न आगामी निर्वाचनसम्म सत्ता समीकरण रहिरहने उनले बताए । १८ वर्षदेखि थाती रहेको संक्रमणकालीन न्यायको काम नयाँ गठबन्धनको स्थिर सरकार बनेपछि टुंगोमा पुगेको उनले उल्लेख गरे । जसले गर्दा सरकारप्रति जनतामा विश्वास बढेको उनको भनाइ छ ।

कञ्चनपुरलाई भारत, नेपाल, चीनबिचको त्रिदेशीय नाकाको रुपमा विकसित गरिने गृहमन्त्री लेखकले बताए । दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणसँगै महाकाली करिडोर निर्माणलाई तीव्ररुपमा अगाडि बढाइने उनले उल्लेख गरे ।

त्रिदेशीय नाका बनाएर यहाँ उत्पादित वस्तुलाई निर्यात गर्न दैजी छेला औद्योगीक क्षेत्रमा उद्योग स्थापना गरिने उनले जानकारी दिए । भूमिसम्बन्धी आयोग गठनको कार्य अन्तिम चरणमा रहेको उनले बताए ।

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न योजनाबद्ध रुपमा अगाडि बढेको उनको भनाइ छ । लागुऔषधको समस्या चुनौतीका रुपमा रहेकाले उनले भारतीय विदेश सचिवसँगको भेटमा सीमापार क्षेत्रबाट हुने लागुऔषध ओसारपसार रोक्न जोडदार रुपमा मुद्दा उठाएको बताए ।

भारतीय विदेश सचिवले दुवै क्षेत्रमा लागुऔषध रोकथामका लागि कडाइ गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए । वर्षौंदेखि थाती रहेको निकुञ्ज विस्थापित परिवारको पुनः स्थापना अगाडि बढाउने प्रतिबद्धता जनाए । यसै क्रममा गृहमन्त्री लेखकलाई निकुञ्ज विस्थापित, बाढी प्रभावित क्षेत्रका बासिन्दाले ज्ञापनपत्र बुझाएका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime