Skip to content

मामाका छोरा र फुपूकी छोरीबीच पनि अंगदान हुने

nabil bank

काठमाडौं । हालै मात्र सर्वोच्च अदालतले अंग प्रत्यारोपण सम्बन्धी सेवामा अंग लिने र दिनेबीच अलि फराकिलो व्यवस्था अपनाउन आदेश दिएको छ । सर्वोच्च अदालतले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई आवश्यक परिमार्जन गर्न भनेको हो ।

योसँगै अबदेखि मृर्गौला फेल भएर प्रत्यारोपणको पर्खाइमा बसेका तर अंग दिन नातेदार तयार भए पनि कानुनी अवरोधका कारण अंग प्रत्यारोपण गर्न रोकिएकालाई लाभ हुने भएको हो । झापाका विष्णुबहादुर खत्रीले फुपूकी छोरी (भान्जी बहिनी) को मृगौला प्रत्यारोपणका लागि प्रक्रिया अघि बढाएका थिए तर किस्ट मेडिकल कलेजले कानुनी समस्या देखाउँदै प्रत्यारोपण गर्न अस्वीकार गरेको थियो । यसैको विरुद्धमा मृगौलाका विरामी खत्री सर्वोच्च अदालतमा रिट लिएर गएका थिए ।

यही रिटको फैसलामा सर्वोच्चले नातेदारसम्बन्धी हालको कानुनी परिभाषा फेरेर भए पनि अंगदानलाई सहज बनाउन सरकारलाई आदेश दिएको हो । सर्वोच्चले मामाका छोरा र फुपूकी छोरीबीच पनि अंगदान हुने गरी व्यवस्था गरी दिएको हो । सो रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र कुमार चुडालको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । ‘यी निवेदकको जीवन जोखिममा रहेको अवस्थालाई समेत दृष्टिगत गर्दा विपक्षी किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको मिति २०८०/०३/२४ को निर्णयले निज निवेदकको जीवन बाँच्न पाउने नैसर्गिक हकमा नै आघात पुग्न सक्ने भएकाले सो निर्णय उत्प्रेषणको आदेशले बदर भई निवेदनमा उल्लेख भएबमोजिम निवेदकले फुपूकी छोरी अर्थात् बहिनी सरहको नाताकी लक्ष्मी विष्ट (घिमिरे) ले स्वैच्छिक रूपमा मृगौला अङ्गदान गर्न चाहेमा चिकित्सकीय रीत पुर्‍याई मृगौला दान गरी प्रत्यारोपण गर्नु गराउनु भनी निवेदकको मागबमोजिम परमादेशको आदेश जारी गरी दिएको छ,’ फैसालामा भनिएको छ ।

यस्तै स्वेच्छापूर्वक विनाखरिद–विक्री मानव जीवन रक्षाको पवित्र भावका साथ अंग दान एवं ग्रहणलाई नातेदारको सीमाभित्र संकुचन गर्न स्वभाविक रूपमा व्यवहारतः मिल्न नआउने सर्वोच्चको ठहर गरेको छ । अहिले अंग प्रत्यारोपण ऐन, अनुसार नेपालमा परिवारका सदस्य र नजिकका नातेदारले अंग (मिर्गौला) दान गर्न सक्ने व्यवस्था छ । ऐनमा पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बुबा, आमा, धर्मपुत्री वा धर्मपुत्र राख्ने बाबुआमा, झड्केला बुबा, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनीले मिर्गौला दिन सक्छन् ।

यसका साथै ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबुबा, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देवर, देवरानी, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठानले पनि मिर्गौला दिन सक्छन् । धर्मपुत्र, धर्मपुत्री, धर्मपुत्र राख्ने बुबाआमा र वैवाहिक सम्बन्धबाट कायम भएको नाताको हकमा कम्तीमा २ वर्षदेखि अटुट रूपमा नाता सम्बन्ध कायम रहेको अवस्थामा मात्रै मिर्गौला दान गर्न पाइने ऐनमा व्यवस्था छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime