Skip to content
Prabhu

काठमाडौंका केही स्थानमा आज बिहान ६ः३० देखि ११ बजेसम्म विद्युत सेवा बन्द हुने

काठमाडौं । काठमाडौंका केही स्थानमा बुधबार विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले भूमिगत प्रसारण लाइनमा काम गर्नुपर्ने भएकाले आज विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

जसअन्तर्गत रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा सेवा अवरुद्ध भएको छ । उक्त वितरण केन्द्र मातहतका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गरिएको छ । भूमिगत गरिएका प्रसारण लाइनमा आवश्यक काम गर्ने प्रयोजनका लागि बुधबार बिहान ६ः३० देखि ११ बजेसम्म लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार महाबौद्ध फिडरअन्तर्गत पर्ने न्युरोड गेट, रञ्जना हल, विशालबजार सवस्टेसनभित्र, विशाल बजार अगाडि, गणेशस्थान, ट्रमा सेन्टरसम्मको केबल हेडसम्मको स्थानमा बिहान ६.३० देखि ११ बजेसम्म साढे ४ घण्टा लाइन काटिनेछ ।

यस्तै, रत्नपार्क बगैचा, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, इन्द्रचोक, सुर्ज आर्केड, मसला गल्लीमोडसम्म पनि सोही समय सीमाभित्र बिजुली काटिनेछ ।

लैनचौर सवस्टेसनबाट लैनचौर चोक उपराष्ट्रपति कार्यालय, केशरमहल दरबारमार्ग ट्राफिक कार्यालय, पुरानो जय नेपाल हल, हात्तीसार चोक, काठमाडौँ प्लाजा, मेरियट होटल, नागपोखरी र नारायणचौरसम्म पनि बिहान ६ः३० देखि ११ बजेसम्म बिजुली आप्रवाह बन्द हुने प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।

ती स्थानमा काम नलाग्ने पोल हटाउने तथा वितरण ट्रान्सफर्मरको मर्मतको काम पनि हुने भएकाले लाइन काटिन लागेको सूचनामा उल्लेख छ । प्राधिकरणले काठमाडौं उपत्यकाभित्र भूमिगत गरेको प्रसारण लाइनमार्फत बिजुली प्रवाहका लागि आवश्यक प्राविधिक तयारी गरिरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal