Skip to content
Prabhu

ऊर्जामन्त्री खड्का र नेपालका लागि बंगलादेशका राजदूत चौधरीबीच भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दीन नोमन चौधरीले आज शिष्टाचार भेट गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नेपाल र बंगलादेशबीचका ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको मन्त्री खड्कको सचिवालयले जनाएको छ ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र बंगलादेशमा बढ्दो ऊर्जा आवश्यकता रहकोले दुई देशबीचको ऊर्जा सहकार्यलाई अझ गहिरो बनाउन यस भेटले सहयोग पुगेको बताए ।

उनले आगामी दिनमा हुन लागेको दुई देशका सचिव तथा सहसचिवस्तरीय बैठकमा ठूला जलविद्युत् आयोजना निर्माणमा सहकार्य, अन्तरदेशीय प्रसारण लाइनमा भारतीय पक्षको सहमति र विद्युत् व्यापारको सुरुआतलगायत विभिन्न महत्त्वपूर्ण विषयमा छलफल तथा निर्णय हुने भएकाले उक्त बैठक फलदायी हुनेमा विश्वास व्यक्त गरे ।

ऊर्जामन्त्री खड्काले चाँडै नै नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगमबीच ऐतिहासिक त्रिपक्षीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने पनि उल्लेख गरेका छन् ।

नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बंगलादेशमा विद्युत् निर्यातले दुई देशबीच विद्युत् व्यापारको ढोका खोल्ने ऊर्जामन्त्री खड्काले बताए । यसो हुनसके नेपालको विद्युत् व्यापारमा महत्त्वपूर्ण उपलब्धि प्राप्त हुने उनको भनाइ थियो ।

मन्त्री खड्काले ६८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेकोमा राजदूतावासबाट आवश्यक पहल हुने विश्वास व्यक्त गरे ।

भेटमा राजदूत चौधरीले बङ्गलादेशले चाँडै नै ४० मेगावाट विद्युत् खरिद सम्झौता गरेर नेपाल र बंगलादेशबीचको ऊर्जा सहकार्यलाई अगाडि बढाउन खोजेको बताए । राजदूत चौधरीले विद्युत् उत्पादन, व्यापार र प्रसारण लाइनको विकासमा बंगलादेशले नेपाललाई सहयोग गर्ने उल्लेख गरे ।

उनले बंगलादेशले सिँचाइको नवीनतम माध्यामबाट कृषि क्षेत्रमा थोरै जमिनबाट धेरै उत्पादन गरिरहेको भन्दै उक्त प्रविधिलाई नेपालमा भित्र्याउनका लागि आवश्यक सहयोग गर्ने बताए । भेटमा ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीलगायतको उपस्थिति थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal