एजेन्सी । “हाम्रो राष्ट्रपति पहिले नै स्पष्ट गरिसक्नु भएको छ कि टर्कीले ब्रिक्सलगायत सबै महत्त्वपूर्ण प्लेटफर्महरूमा भाग लिन चाहन्छ ।” यो टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनको पार्टीका प्रवक्ता उमेर सेलिकले दिएको अभिव्यक्ति हो ।
प्रवक्ताले टर्कीले ब्रिक्सको सदस्यताका लागि औपचारिक आवेदन दिएको विषय भने स्वीकार गरेका छैनन् । तर यसबारे एउटा ‘प्रक्रिया सुरु भएको’ भने बताएका छन् ।
ब्रिक्स २२–२४ अक्टोबरमा रुसी सहर कजानमा हुने बैठकका क्रममा नयाँ सदस्यहरूको समावेशको विषयमा निर्णय गर्नेछ ।
टर्की ब्रिक्समा सामेल भयो भने के होला?
यदि टर्कीलाई साँच्चै ब्रिक्सले सदस्यताको निम्तो दियो भने टर्की पहिलो यस्तो नेटो सदस्य राष्ट्र हुनेछ, जुन रूस र चीनजस्ता कुनै गैर–पश्चिमी आर्थिक गठबन्धनमा सामेल हुनेछ ।
टर्की–रूस सम्बन्धका विज्ञ करीम हास भन्छन्, “मलाई लाग्छ, यो केवल टर्कीका लागि मात्र होइन, ब्रिक्सका लागि पनि निकै महत्त्वपूर्ण हुनेछ ।” करीम हासका अनुसार, टर्कीलाई विदेशी लगानीको आवश्यकता छ किनकि देश गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ ।
उनी भन्छन्, “यदि टर्कीको अर्थतन्त्र धराशयी भयो भने यो युरोपेली बैंकहरूका लागि पनि खतरनाक हुनेछ किनकि टर्कीको अर्थतन्त्र उनीहरूमाथि नै निर्भर छ । टर्कीको आधा व्यापार युरोपेली संघका देशहरूसँग हुन्छ ।”
काउन्सिल अफ युरोपियन युनियनका अनुसार, टर्की ३१.८ प्रतिशत व्यापार युरोपेली संघसँग गर्छन् । सन् २०२२ मा युरोपेली संघ र टर्कीबीच कुल २०० अर्ब यूरोको व्यापार भएको थियो ।
ब्रिक्स के हो?
सुरुमा यो समूह ब्रिक भनेर चिनिन्थ्यो । यो विकासशील देशहरूको समूह हो जसको गठन सन् २००६ मा भएको थियो । यसमा ब्राजिल, रूस, भारत र चीन सामेल थिए । सन् २०१० मा यो समूहमा दक्षिण अफ्रिका पनि सामेल भयो र त्यसपछि यसको नाम ब्रिकबाट ब्रिक्स भयो ।
ब्रिक्सको गठन उत्तरी अमेरिका र पश्चिमी युरोपका धनी देशहरूको राजनीतिक र आर्थिक शक्तिलाई चुनौती दिन, विश्वका सबैभन्दा महत्त्वपूर्ण विकासशील देशहरूलाई एकताबद्ध गर्ने उद्देश्यले भएको थियो ।
यस आर्थिक गठबन्धनमा हालका वर्षहरूमा धेरै विस्तार भएका छन् । अहिले यसमा इरान, मिश्र, इथियोपिया र संयुक्त अरब एमिरेट्स पनि सामेल भइसकेका छन् ।
साउदी अरेबियाले पनि यस समूहमा सामेल हुने इच्छा व्यक्त गरेको छ र अजरबैजानले त सदस्यताको लागि औपचारिक आवेदन पनि दिइसकेको छ ।
ब्लूमबर्ग एजेन्सीको रिपोर्ट अनुसार टर्कीले केही महिना पहिले नै ब्रिक्समा सामेल हुने आवेदन दिएको छ ।
टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले सन् २०१८ मा दक्षिण अफ्रिकामा भएको १०औं ब्रिक्स शिखर सम्मेलनका क्रममा यस आर्थिक गठबन्धनमा सामेल हुने इच्छा व्यक्त गरेका थिए ।
टर्कीले किन ब्रिक्समा देखायो रुचि ?
टर्कीमा दुई दशकभन्दा लामो समयदेखि शासन गर्दै आएका राष्ट्रपति अर्दोआनले आफ्नो देशलाई युरोपेली संघमा सामेल गराउने प्रयास असफल भइसकेको देखेका छन् । युरोपले भनेको छ कि संघमा सामेल हुनु भन्दा पहिला टर्कीले पूर्वी र पश्चिमी देशहरूसँग आफ्नो सम्बन्ध सुधार्नुपर्छ ।
अर्दोआनले चीन र रूसको क्षेत्रीय सहयोग संगठनबारे भनेका छन्, “हामीलाई युरोपेली युनियन र संघाई सहयोग संगठनबीच छान्नुपर्दैन । यसको विपरीत, हामीले यी दुवै र अन्य संगठनहरूसँग सम्बन्ध विकास गर्नुपर्छ ।”
सन् २०२२ मा टर्कीको कुल व्यापारमध्ये ११ प्रतिशतरूससँग र ७.२ प्रतिशत चीनसँग थियो । करीम हासका अनुसार, ब्रिक्समा सामेल हुनका लागि टर्कीको प्रयासलाई रूसले पूर्ण समर्थन गर्नेछ ।
उहाँ भन्छन्, “युक्रेनको युद्धका कारण रूसको प्राथमिकता आफ्नो अर्थतन्त्रलाई बलियो बनाएर राख्नु हो, ताकि उसको अर्थतन्त्र पश्चिमी देशहरूको प्रतिबन्धको भारमा धराशायी नहोस् ।” त्यसैले रूसले टर्कीलाई आफ्नो नजिक राख्न चाहन्छ । यी दुई देशहरूबीच ऊर्जा, व्यापारदेखि लिएर पर्यटनसम्मका क्षेत्रमा राम्रो सहयोग रहँदै आएको छ । रूसका लागि पनि कुनै नेटो देशसँग राम्रो सम्बन्ध बनाउनु लाभदायक हुनेछ ।
अमेरिकी थिंक ट्यांक विल्सन सेन्टरका युसुफ कान भन्छन्, “ब्रिक्स र एससीओजस्ता संगठनहरूमा टर्कीको चासोलाई कुनै शिफ्टको रूपमा हेरिनु हुँदैन । यी संगठनहरूमा कुनै सहयोगीको उपस्थिति नेटोलाई फाइदा नै पु¥याउनेछ ।”
आर्थिक संकटमा फसेको टर्की
टर्कीको यो उकुसमुकुसको कारण त्यहाँको बढ्दो आर्थिक संकट र विदेशी लगानीमा निर्भरता हो । यही कारण हो कि उसलाई भू–राजनीतिक रूपमा सन्तुलित रुपमा व्यवहार गर्नुपर्ने अवस्था छ । आईएमएफका सन् २०२३ को प्रतिवेदन अनुसार, टर्की विश्वको १७औं ठूलो अर्थतन्त्र हो ।
आकंड़ाहरूका अनुसार ७१.६ प्रतिशतको आधिकारिक वार्षिक उपभोक्ता मूल्य सूचकांकसँगै, टर्की जिम्बाब्वे, अर्जेन्टिना, सुडान र भेनेजुएलापछिका मुलुकहरूमध्ये पर्छ ।
हालका दिनहरूमा आएका ओपिनियन पोलहरूले देखाएका छन् कि बढ्दो महँगीले देशका नागरिकहरूलाई सबैभन्दा ठूलो बोझ परेको छ ।
राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले लगातार टर्कीको केन्द्रीय बैंकलाई ब्याज दरलाई कम राख्न दबाब दिएका छन् । उनको जोड विकासमा छ र उनी महँगी बढ्नु ब्याज दर बढेको परिणाम हो भन्ने मान्छन् ।
तर गत एक वर्षमा उनले आर्थिक नीतिमा परिवर्तन गरेका छन् । नयाँ प्रशासनले रूढीवादी नीति अपनाइरहेका छन् । उदाहरणका लागि, टर्कीको केन्द्रीय बैंकको नयाँ बोर्डले केवल नौ महिनाको बीचमा ब्याजदरलाई ८.५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याइदिएको छ ।
टर्कीका हालका वित्त मन्त्री मेहमेत सिमसेकले भने नयाँ नीति राम्रोसँग काम गरिरहेको र महँगाइको विषयमा खराब समय समाप्त भइसकेको दाबी गर्दै आएका छन् । धेरै मानिसहरूलाई भविष्यको बारेमा अझै पनि शंका छ ।
बर्लिन स्कूल अफ इकोनोमिक्स एन्ड लो का डाक्टर उमित अक्के भन्छन्, “जबदेखि सिमसेकलाई नियुक्त गरिएको छ, महंगी दोब्बर भइसकेको छ र टर्कीको मुद्रा, लीरा पनि निकै खस्किएको छ । त्यो पनि तब जब ब्याजदरहरू ८ प्रतिशतबाट बढेर ५० प्रतिशत पुगेका छन् ।”
प्रतिक्रिया दिनुहोस्