Skip to content
Prabhu

नेपाल वायुसेवा निगमले सुर्खेतबाट उडान गर्ने

nabil

 

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको सञ्चालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा छलफल गरेको छ । 

छलफलका क्रममा उपप्रधानमन्त्री खड्काले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला जुम्ला, हुम्ला, सिमिकोट, ताल्चा, डोल्पालगायतका गन्तव्यको उडान प्रारम्भ गर्न प्राथमिकता दिएर चाँडोभन्दा चाँडो रफ्तारकासाथ काम गर्न आग्रह गरे ।

छलफलमा नेपाल वायुसेवा निगमका अध्यक्षसहित सुर्खेतबाट हवाई सेवा दिने व्यवस्था मिलाउन गठित समितिका पदाधिकारीहरूको समेत सहभागिता थियो । छलफलमा उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट अन्य जिल्लामा हवाई सेवा दिने नेपाल एयरलाइन्सको दीर्घकालीन व्यावसायिक योजनामा आफ्नो, सङ्घीय सरकार र प्रदेश सरकारको साथ, सहयोग र समर्थन रहेको बताए । 

नेपाल वायुसेवा निगमका अधिकारी र उपप्रधानमन्त्री खड्काबीच चाँडै सुर्खेतबाट हवाई सेवा सुरु गर्न र त्यसको तयारीका लागि सुर्खेतमा नेपाल एयरलाइन्सको कार्यालय यथाशीघ्र स्थापना गर्ने विषयमा समेत छलफल भएको थियो।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले सुर्खेतबाट उडानको तयारी भइरहेको बताए । ‘यसका लागि समिति पनि गठन गरिएको छ’, अध्यक्ष अधिकारीले भने, ‘हामी सुर्खेतबाट हवाई सेवा दिन तयारी गरिरहेका छौँ ।’

उपप्रधानमन्त्री खड्कासँगको छलफलको क्रममा गठित समितिका सदस्य सचिव दिपेश पुनले माघभित्र तयारी पूरा गरी फागुनदेखि सुर्खेतबाट उडान गर्ने लक्ष्यका साथ काम अघि बढाउने बताए । उनले थप प्रष्ट पार्दै भने, ‘कर्णाली प्रदेशका अन्य जिल्लालाई हवाई उडानमार्फत सुर्खेतमा जोड्ने गरी काम गरिरहेका छौं ।’ 

सो अवसरमा उपप्रधानमन्त्री खड्काले निगमलाई हाल उपलब्ध सबै विमान उपयोग गरी देशभित्र र विश्वका विभिन्न गन्तव्यहरुमा उडान विस्तार गर्न रणनीतिक योजनाका साथ अघि बढ्न सुझाव दिए । ‘नेपाल एयरलाइन्सले हाल भइरहेका विमानको पूर्ण क्षमतामा सञ्चालन गरी अधिकतम लाभ लिन सक्नुपर्छ’, उनले भने । 

छलफलको निष्कर्षमा उपप्रधानमन्त्री खड्काले पुनः जोड दिँदै निगम अधिकारीलाई सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशका विभिन्न जिल्ला र पायक पर्ने छिमेकी जिल्लाहरुमा समेत नेपाल एयरलाइन्सले नियमित हवाई सेवा सञ्चालन गरी त्यहाँका जनताको वर्षौंदेखिको हवाई सेवा प्राप्त गर्ने आकांक्षा पूरा गर्न विशेष जोड दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal