Skip to content
Prabhu

दाङमा सहकारी खुलेपछि स्वरोजगार बन्दै महिला

घोराही । पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् । घरको काम र घाँसपातमा व्यस्त हुने प्रायः महिला गाउँगाउँमा सहकारी खुलेपछि अहिले रकम जम्मा गर्न थालेका छन् ।

सहकारी संस्थाका कारण जिल्लाका अधिकांश महिला बेफुर्सदिला हुन थालेका छन् । महिलाको लगनशीलता तथा मेहनतका कारण सहकारी क्रमिकरूपमा फलदायी तथा नाफामुखी बन्दै गएका हुन् । महिलाले सञ्चालन गरेका सहकारीका कारण धेरै स्थानीय महिलाले गाउँमै रोजगारीसमेत पाएको घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीमा रहेको एकता महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रेबा अधिकारीले बताइन्।

यस संस्था स्थापना भएदेखि नै महिलाहरूको नेतृत्वमा सञ्चालन हुँदै आएको छ । महिलाद्वारा खोलिएका सहकारी संस्थामार्फत महिला सशक्तीकरणका साथै आर्थिक स्थितिमा समेत विगतको तुलनामा निकै सुधार आएको उनको भनाइ छ ।

संस्थामा आबद्ध महिलाहरूमा थोरै भए पनि बचत गर्नुपर्छ भन्ने बानीको विकास भएको उनले बताए । ‘संस्थामा बचत गरेको रकमले आफूलाई समस्या परेको समयमा निकालेर समस्या समाधान गर्न सकिन्छ’, सहकारी संस्थाका अध्यक्ष अधिकारीले भने ।

विसं २०५५ मा स्थापना भएको यस सहकारी संस्थाले विशेष गरेर महिला स्वरोजगारको पाटोलाई बलियो बनाउँदै लगेको छ । संस्थामा हालसम्म पाँच सय २७ सदस्य आबद्ध रहेका छन् । संस्थाले अहिलेसम्म  ५ करोड रुपैयाँबराबरको कारोबार गर्न सफल भएको छ । 

संस्थाले मुख्य बचत र ऋण कारोबारसँगै सदस्यलाई विभिन्न आयआर्जनमा समेत जोड्दै लगेको छ । संस्थामा आबद्ध सदस्य घोराही–१८ हात्तीखर्ककी रीता सार्की विगत लामो समयदेखि बेसारखेती गर्दै आएका छन् । सदस्यले उत्पादन गरेको बेसारलाई सहकारीले किलोको रु तीन सयमा बिक्री वितरण गर्दै आएको छ ।

रीताजस्तै यहाँका धेरै महिलाले बेसारखेती गर्दै आएका छन् । घरमा खाली बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोचका साथ बेसारखेती गर्दै आएको उनको भनाइ छ । सहकारी संस्थामा आबद्ध सदस्यले उत्पादन गरेको सबै बेसारलाई संस्थाले चाना काटेर, सुकाएर, पिसाएर बेच्ने आएको छ ।

संंस्थाले स्थानीयस्तरमा सञ्चालन हुने मेला महोत्सवमा पनि बेसार बेच्ने गरेको छ । हात्तीखर्कमा बेसारखेतीका लागि राम्रो सम्भावना रहेको छ । संस्थामा आबद्ध सदस्यले पर्याप्त मात्रामा बेसार उत्पादन गरे पनि बजारीकरणको केही समस्या रहेको सहकारी संस्थाकी उपाध्यक्ष सुनकुमारी विष्ट बताइन् ।

सबै सदस्यले बाहिरको बेसार नकिनेर संस्थाबाटै लैजाने गरेको उनले बताइन्। वार्षिक रूपमा एक लाख रुपैयाँ बढीको संस्थाले बेसार बिक्री गरेर आम्दानी गर्दै आएको उनको भनाइ छ । उनले पनि बेसारखेती, बाख्रापालन, तरकारीलगायतबाट मासिक २५ हजार रुपैयाँ आम्दानी गर्दै आएकी छन् । सदस्यले मासिक पाँच सयदेखि दुई हजार रुपैयाँ सम्म बचत गर्ने गरेका छन् । संस्थाबाट अन्य महिलाले पनि ऋण लगेर विभिन्न तरकारीखेती, किराना पसल, अन्य उद्यमलगायतका व्यवसाय गर्दै आएका छन् ।

आगामी दिनमा स्थानीय तहमार्फत केही सहयोग पाएमा संस्थामा आबद्ध सदस्यलाई विभिन्न सीपमूलक कार्यक्रममा जोड्न सकिने संस्थाका अध्यक्ष अधिकारीले बताइन् । संस्थाले विभिन्न समयमा सीपमूलक तालिमसँगै सहकारी सचेतना जागरण तालिम प्रदान गर्दै आएको छ । साथै संस्थाले कुनै सदस्यको मृत्यु भएमा १० हजार र सुत्केरी भएको बेला २ हजार रुपैयाँ सहयोग प्रदान गर्दै आएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal