Skip to content
Prabhu

भूकम्पपीडितका लागि २८ करोड ७१ लाख संकलन

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म २८ करोड ७१ लाख ४१ हजार छ सय ६५ रुपैयाँ बराबर सङ्कलन भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सोमबारसम्ममा विभिन्न सङ्घसंस्था तथा व्यक्तिका तर्फबाट सो बराबरको सहयोग रकम जुटेको हो ।

भूकम्पपछिको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोगको घोषणा भएको थियो । उक्त सहयोगलाई एकद्वार प्रणालीबाट सङ्कलन तथा वितरणका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमार्फत सहयोग गर्न सरकारले आग्रह गरेको थियो । 

राहत वितरण तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा सहयोग रकम जम्मा गर्न विभिन्न नौवटा बैंकमा खाता रहेका छन् ।

भूकम्पपीडितलाई राहत तथा पुनःस्थापनाका लागि केही समयअघि मात्र सरकारले २ अर्ब रुपैयाँ बराबर निकासा गर्ने निर्णय गरेको थियो । गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषलाई रू दुई अर्ब उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्पित्ररिषद्को कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए ।

सहायता कोषमा सबैभन्दा धेरै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङका तर्फबाट १ करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ बराबर सहयोग जम्मा भएको छ । त्यस्तै, बुद्धएयर प्रालि, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक लिमिटेड, सूर्य नेपाल प्रालि, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोर्खा ब्रुअरी प्राइभेट लिमिटेड, युनीलिभर नेपाल लिमिटेड मकवानपुरले समान १ करोड रुपैयाँ बराबर सहयोग गरेका छन् ।

जाजरकोट भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो । पीडितलाई राहत तथा पुनःस्थापनाको काम अहिले पनि सञ्चालन भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal