Skip to content

खोटाङमा लामो तथा छोटो दूरीका सवारीसाधनको भाडादर घट्यो

nabil bank

खोटाङ । जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअघि लिने गरिएको भाडादरलाई घटाएर नयाँ भाडादर कायम गरिएको हो । 

जिल्लामा सञ्चालित बस, सुमो (जिप), अटो र भ्यान सञ्चालकसँग छुट्टाछुट्टै छलफल गरेर सवारीसाधनको भाडादर घटाइएको प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले जानकारी दिए । ‘जिल्लामा सञ्चालित सबै सवारीले आफूखुसी भाडा लिने गरेका थिए । 

यसलाई व्यवस्थित गर्न पहिलो चरणमा बसको एकतर्फी भाडा रु तीन सय १० सम्म घटाइएको छ’, उनले भने, ‘भाडादरलाई अझ स्थायी बनाउन केही दिन लाग्ने भएको छ । बस, सुमो, अटो र भ्यान सञ्चालक समितिबाट एक–एकजना, उद्योग वाणिज्य संघ, ट्राफिक प्रहरी, पत्रकार महासंघ, नागरिक समाज, १० वटै स्थानीय तहका एक–एकजना प्रतिनिधि राखेर समिति निर्माणगरी वैज्ञानिक तवरबाट भाडा तोकिने र त्यसैलाई स्थायीरूपमा निरन्तरता दिने निर्णय गरिएको छ ।’

बसमा दिक्तेल–खुर्कोट ९ सय ५०, दिक्तेल–काठमाडौँ १ हजार ३ सय रुपैयाँ, दिक्तेल–रसुवा–गाईघाट–धरान खडकखण्डमा दिक्तेल–गाईघाटको एक हजार, दिक्तेल–इटहरीको  एक हजार तीन सय रुपैयाँ, दिक्तेल–धरान  एक हजार तीन सय ५० रुपैयाँ र दिक्तेल–कटारी–धरान–विराटनगर–काँकडभिट्टा सडकखण्डमा दिक्तेल–कटारी रु एक हजार रुपैयाँ, दिक्तेल–मिर्चैया एक हजार एक सय रुपैयाँ, दिक्तेल–लहान एक हजार दुई सय, दिक्तेल–इटहरी रु एक हजार चार सय ५० रुपैयाँ, दिक्तेल–धरान एक हजार पाँच सय रुपैयाँ, दिक्तेल–विराटनगर एक हजार पाँच सय ५० रुपैयाँ र दिक्तेल–काँकडभिट्टा  एक हजार सात सय ५० रुपैयाँ नयाँ भाडार कायम गरिएको छ । दिक्तेल–भोजपुरअन्तर्गत दिक्तेल–चखेवा रु पाँच सय ५०, दिक्तेल–भोजपुर आठ सय, दिक्तेल–मानेभन्ज्याङ पाँच सय ३०, दिक्तेल–रोक्सिम भन्ज्याङ ६ सय, दिक्तेल–खोटाङबजार रु सात सय भाडादर तोकिएको छ । 

यात्रुको सहजताका लागि जिल्लाभित्र तथा बाहिर सञ्चालन हुने सबै स्थानको भाडा घटाइएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिएका छन् । ‘व्यवसायसँगै यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले सबै सवारीको भाडादर घटाइएको छ । नयाँ भाडादरअनुसार भाडा लिन र दिन व्यवसायी तथा यात्रुलाई आग्रह गरेका छौँ’, उनले भने, ‘यातायात व्यवसायीले तोकिएको भाडादर लागू नगरेको खण्डमा हामीलाई खबर गर्नुहोस्, तुरुन्त कारबाही गर्छौँ ।’ 

लामो दूरीमा चल्ने सुमोले सबै ठाउँको रु एक सय भाडा घटाउने र भ्यानले दिक्तेलबाट मुडेसम्मको  एक सय रुपैयाँ, हुर्लुङ  एक सय ५० रुपैयाँ, नुनथला दुई सय रुपैयाँ, महुरे दुई सय ५० रुपैयाँ, अर्खौले तीन सय र हलेसी तीन सय ५० रुपैयाँ भाडा लिनुपर्ने जनाइएको छ । भ्यानले दिक्तेलबाट हलेसी रिजर्भ जाँदा तीन हजार पाँच सय रुपैयाँमात्रै लिन पाउनेछन् । 

अटोले सेवा दिइरहेको ठाउँमा ५० घटाउने र दिक्तेलको रत्नपार्कबाट जिल्ला अस्पतालसम्म बिरामी लानुपरेमा बिरामी र सहयोगीको दुई सय ५० र बिरामीसहित तीनजना भएमा रु तीन सय ५० लिने निर्णय भएको छ । जिल्लामा सञ्चालन हुने अटोले सबैभन्दा बढी मनपरी भाडा लिने गरेको यात्रुको गुनासो छ । 

यसैबीच दिक्तेलको आचार्य गाउँमा रहेको बसर्पाकमा दैनिक पाँचवटा बस लैजाने र त्यहाँ ‘इन्ट्री’ गरेरमात्रै माथि आउन पाइने, यात्रु लिन सोल्मा बसपार्कमा बस अनिवार्य जानुपर्ने र आन्तरिकरूपमा चल्ने यातायातका साधन सोल्मा बसपार्क लैजाने निर्णय भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । 

सडकको दायाँबायाँ यत्रतत्र गाडी पार्किङ गर्न नपाइने, यदि पार्किङ गरेको खण्डमा कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा बस, जिप, अटो र भ्यानगरी करिब तीन सय ५० हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime