Skip to content
Prabhu

तनहुँका अधिकारीले यो वर्ष सुन्तला बेचेर ७५ लाख कमाए

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर ७५ लाख रुपैयाँ आम्दानी गरे । विसं २०५२ बाट व्यावसायिकरुपमा सुन्तला खेतीमा आबद्ध उनले सुन्तला खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । 

गाउँको भिरालो जग्गालाई सदुपयोग गरी सुन्तला खेती गर्नुभएका अधिकारीको सुन्तला बगैंचामा एक हजार तीन सयभन्दा बढी बोट छन् । सबैभन्दा धेरै यही वर्ष सुन्तला उत्पादन भएको अधिकारीको भनाइ छ । उनले भने, ‘अन्य वर्ष ६०÷७० लाख रुपैयाँको उत्पादन भएको छ । यो वर्ष सबैभन्दा धेरै उत्पादन भयो ।’

सुन्तला खेतीका लागि वार्षिक १५ लाख रुपैयाँ खर्च हुने गरेको अधिकारीको भनाइ छ । उनले भने, ‘यो वर्ष खर्च पहिलाभन्दा थोरै बढ्छ । यो वर्ष खेताला बढी लगाउनुपरेको र मलखादको प्रयोगका कारण खर्च बढी हुन्छ ।’ फलेका सुन्तला सबै टिपिसकेपछि सुन्तला बोटको गोडमेल गरिने अधिकारीले बताए । उनले भने, ‘सबै सुन्तला टिपिसकेपछि सुन्तलाको बोटमा गोडमेल गर्ने, मल हाल्ने, पिना हाल्ने काम हुन्छ ।’

सुन्तला बिक्रीबाट भएको आम्दानीले छोरा इन्जिनियर र छोरी डाक्टर भइसकेको अधिकारीले सुनाए । सुन्तला बगैँचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्न सके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन राम्रो हुने उनको भनाइ छ । सुन्तला बगानसम्म सडक सञ्जाल जोडिएकाले सुन्तला बिक्रीका लागि सहज भएको अधिकारी बताए। उनले भने, ‘सुन्तला खरिद गर्न ठेकेदार बगानमा नै आउँछन् । बजारको कुनै समस्या छैन । बिक्री हुँदैन की भन्ने चिन्ता छैन ।’

सुन्तला खरिद गर्ने ठेकेदार तुलबहादुर थापाले यहाँ उत्पादित सुन्तला काठमाडौँ लगेर बिक्री गर्ने गरेको बताए । ‘म्याग्देको खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएर खरिद गर्ने गरेको छु । यहाँ उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन् । बजारको समस्या छैन ।’

देवघाट गाउँपालिका–३ का भीमबहादुर थापाले यो वर्ष ५५ लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् । विगतमा अधियाँ गरेर खानपर्ने बाध्यता रहेको उहाँको परिवारलाई अहिले सुन्तलाले आत्मनिर्भर बनाएको छ । उनले भने, ‘विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता रहेका यहाँका किसानले यतिबेला सुन्तला बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । लुङग्रिङमा एउटै घरबाट २० लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ ।’ 

यी त केही उदाहरणमात्र हुन् । तनहुँमा यो वर्ष किसानले सुन्तला बिक्री गरेर ३० करोड रुपैयाँ भित्र्याएका छन् । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले यो वर्ष करिब ३० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको जानकारी दिए। यो वर्ष तीन हजार सात सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको प्रारम्भिक अनुमान छ । कार्यालयका अनुसार गत वर्ष २९ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । उक्त अवधिमा तीन हजार छ सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । 

प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । धितालले भने, ‘किसानलाई सुन्तला बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौं ।’ उनका अनुसार देवघाट–२ र ३, आँबुखैरेनी–५, म्याग्दे ४, व्यास–७, १३ र १४, भिमाद–८ र ९, बन्दीपुर–३, ऋषिङ–३ र घिरिङमा सुन्तला खेती विस्तारको सम्भावना छ । 

तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । 

ज्ञान केन्द्रले चालु आर्थिक वर्ष २०८०÷८१ मा सुन्तला खेतीमा सहयोग गर्न रु एक करोड बजेट विनियोजन गरेको छ । कार्यालयले किसानलाई बगैँचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ ।

जिल्लाका अधिकांश ठाउँमा व्यापारी नै बगैँचासम्म पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । उमाचोकका अधिकारीले व्यापारीलाई ठेक्कामा दिँदा सहज हुने अनुभव सुनाए। उनले भने, ‘सुन्तला बगैँचा नै ठेक्कामा दिँदा बिक्रीका लागि सहज हुन्छ । यसले गर्दा बजार खोज्दै हिँड्नपर्ने समस्या हुँदैन ।’

ढुवानीमा समस्या झेल्दै किसान

तनहुँको देवघाट गाउँपालिका–३ स्थित लुङ्ग्रिङ, छिपछिपे, छापस्वारा, दगरालगायत ठाउँमा उत्पादित सुन्तला बजारसम्म ढुवानीका लागि भने प्रत्येक वर्ष समस्या हुँदै आएको छ । ती ठाउँबाट वार्षिक करोडौँ मूल्यका सुन्तला उत्पादन भए पनि बजारसम्म लैजान समस्या हुँदै आएको हो । नदीपारि रहेको लुङ्ग्रिङ, छिपछिपे, छापस्वारा, दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म सुन्तला ढुवानीका लागि समस्या हुँदै आएको सुन्तला किसान भीमबहादुर थापाको गुनासो छ ।

उनका अनुसार लुङ्ग्रिङ र छिपछिपेका किसानले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारागणगढ सडकको गाईघाटसम्म जिपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गरेका छन् । छापस्वाँरा र दगराका किसानले भने ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौँ सुन्तला ढुवानी गर्ने गरेको उनले बताए। 

सुन्तला उत्पादनमा देवघाट जिल्लाकै पकेट क्षेत्रका रुपमा विकास भइरहेको छ । किसान थापाका अनुसार यस वर्ष लुङ्ग्रिङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । नाल्दी र गाईघाटमा पुल भएको भए ढुवानीका लागि सहज हुने उहाँको भनाइ छ । उनले भने, ‘पुल नहुँदा ढुवानीका लागि खर्च हुँदै आएको छ । यसले किसानलाई समस्या भएको छ ।’

पुल नहुँदा दगराका किसानले रोपवेमार्फत सुन्तला राजमार्गसम्म झार्ने गरेको सुन्तला उत्पादक किसान हरिकुमार श्रेष्ठको भनाइ छ । उनले भने, ‘पुल भएको भए समस्या हुन्थेन, पुल नहुँदा वर्षौंदेखि यहाँ उत्पादित कृषिजन्य सामग्री रोपवेमा राखेर राजमार्गसम्म ल्याउनुपर्छ ।’ 


यहाँका स्थानीयवासीले गाउँमा उत्पादित सुन्तला, अदुवा, केरा तथा अन्य फलफूल रोपवेबाट राजमार्गसम्म झार्ने गरेको श्रेष्ठले बताए। दगरा र छापस्वाँराका करिब ६० घरको ढुवानीको साधन नै रोपवे भएको छ । रोपवे हँुदा ढुवानीमा भने सहज भएको कृषकको भनाइ छ । श्रेष्ठका अनुसार सेती नदीमा पुल निर्माण गर्न सके गाउँसम्मै सवारी साधन पुग्ने र त्यसले सहज हुन्थ्यो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal