काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति गर्नका लागि आज बोलाइएको अन्तर्वार्ता स्थगित भएको छ । सर्टलिस्टमा परेका ५ जनामध्ये बाँकी ३ जनाको अन्तर्वार्ता आजका लागि तोएिको थियो । तर, अध्यक्ष सिफारिस समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी उपस्थित नभएपछि अन्तर्वार्ता रोकिएको हो । उनी बिरामी भएर अस्पताल भर्ना भएको बताइएको छ ।
३ उम्मेदवार बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि बोलाइएको थियो ।
यसअघि नै सर्टलिस्टमा परेर पनि यी तीन उम्मेदवार अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतिमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन ।
नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न समितिका तिनै सदस्य रहने गरी अर्को सिफारिस समिति बनाएको थियो । सर्टलिस्टमा परेका एक उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आदेश दिँदै माघ ३० गतेका लागि पेशी तोक्यो ।
तर, पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिका लागि बाटो खुला भएपछि यी तीन उम्मेदवारलाई आज अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस्