Skip to content
Prabhu

प्रदेशको गौरवको आयोजना डेढगाउँ–झ्यालबास खण्ड आगामी कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य

नवलपरासी ।   कोरला–त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । गण्डकी प्रदेश सरकारले सो आयोजनालाई  प्रदेश गौरवको योजनामा राखेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट सुरु हुने पहिलो खण्डको प्रगति सन्तोषजनक नै रहेको पूर्वाधार विकास कार्यालय नवलपुरका सडक इन्जिनियर रामकृष्ण घिमिरेले जानकारी दिए । 

डेढगाउँ–झ्यालबास खण्डमा पहिलो चरणमा हाल १४ दशमलव एक किलोमिटर सडक निर्माण अघि बढिरहेको छ । विसं २०७९ वैशाखमा सम्झौता भएर निर्माण सुरु गरिएको सो  खण्ड  विसं २०८१ कात्तिकमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  रु ३२ करोड २० लाखको लागतमा सडक निर्माण लामा गौरीशङ्कर जेभीले गरिरहेको छ ।

नालासहित कालोपत्र गर्ने योजनाका साथ काम चलिरहेको सो खण्डमा हाल सडक चौडा गर्ने काम सकिएको छ । नालासहित ११ मिटर चौडाइ रहने यस खण्डमा तीन किलोमिटरमा नाला निर्माण सकिएको इन्जिनियर घिमिरेले बताए । उनका अनुसार नाला निर्माणसँगै ठाउँ–ठाउँमा ग्याविन भर्ने, सडक छेउमा पर्खाल निर्माण गर्ने काम जारी छ । सम्झौताको २१ महिना सकिएको र अब १० महिना बाँकी छ । सम्झौताको अवधिभित्रै काम सक्नेगरी लागिरहेको इन्जिनियर घिमिरेले बताए । 

सडक चौडा पार्ने, ग्याविन भर्ने, छेउछाउमा पर्खाल लगाउनेजस्ता मुख्य काम धेरैजसो सकिएकाले बाँकी रहेको अवधिमा सबै काम सम्पन्न हुने उनको भनाइ छ । “प्रारम्भमा गर्नुपर्ने धेरै मुख्य काम सकिने चरणमा छन्, निर्माण नियमित सञ्चालन भए, सम्झौता अवधिमा नै सबै काम सम्पन्न हुन्छ”, उनले भने । 

 नवलपुरको डेढगाउँबाट प्रारम्भ हुने सो सडक रुचाङ–झ्यालबास हुँदै चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ । यसै खण्डमा दोस्रो चरणमा थप सात किलोमिटर सडक निर्माणको समेत अगाडि बढेको इन्जिनियर घिमिरेले बताए । “पहिलो खण्डको १४ किलोमिटरपछि थप सात किलोमिटर सडक निर्माण अगाडि बढेको छ, चाँडै सम्झौता भएर अर्को खण्डको काम सुरु हुन्छ”, उनले भने । 

डेढगाउँबाट झ्यालबाससम्म करिब ४१ किलोमिटरमध्ये दोस्रो चरणको काम अघि बढेपछि २० किलोमिटरको काम बाँकी रहने उनले बताए ।  गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको योजना भएकाले क्रमशः सबै खण्डको काम अघि बढ्ने उनले बताए । झ्यालबासबाट चोरमारासम्म नौ किलोमिटर सडक गत वर्ष निर्माण भइसकेको छ । चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने यस सडक दुम्कीबासबाट त्रिवेणी पुर्याउने प्रदेश सकारको लक्ष्य छ  । तर दुम्कीबास–त्रिवेणी खण्डमा भने चितवन राष्ट्रिय निकुञ्जका कारण कुनै काम अघि बढ्न सकेको छैन । सो सडक उत्तरतर्फ जिल्लाको डेढगाउँबाट तनहुँको मानपुर, भिमाद हुँदै खैरेनीटारमा गएर पृथ्वीराजमार्गमा जोडिन्छ । 

मुस्ताङको कोरलाबाट नवलपुरको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस बाटोलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal