Skip to content
Prabhu

माग्दीको विकट पात्लेगाउँमा विद्युतसेवा विस्तार

nabil

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ को पात्ले गाउँमा विद्युतीकरण भएको छ । नेपाल विद्युत प्राधिकरणको म्याग्दी जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने कार्यक्रममार्फत भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेमा बिद्युतीकरण भएको हो ।

नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले पात्लेका एक सय २० घरमा केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको जानकारी दिए । दसैंको समयमा गाउँमा बिजुली बलेपछि स्थानीयबासीमा खुसियाली छाएको छ । पात्लेका बासिन्दाले उज्यालोका लागि यसअघि लघुजलविद्युत परियोजना, सौर्य ऊर्जा र टुकीमा निर्भर थिए ।

मालिका –३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रीय लाइनका बिद्युत बलेसँगै उज्यालोका साथै स्थानीयबासीको दैनिकी सहज भएको बताए । विद्युतीय चुल्होमा खाना पकाउन, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, फर्निचर, मिल सञ्चालन गर्न र उद्यम व्यवसायको अवसर सिर्जना भएको छ ।

यसअघि गत साउन महिनामा मालिका गाउँपालिकाको वडा नम्बर १, छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, मालिका–३ को लुप्सीपार, खतेन र मालिका–४ को ओखरबोटका पाँच सय घरमा केन्द्रीय लाइनको बिद्युत सुविधा विस्तार भएको थियो ।

जिल्लाका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि ४७.६ किलोमिटर मुख्य, १२६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न गत असोज तेस्रो हप्ता रविन्द्र÷ढुंगाना जेभीसँग रु तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सोही ठेक्कामार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफैले गरेका हुन् ।

धौलागिरि गाउँपालिका–२ खोरीया, लमसुङ र लुलाङमा तिहार अघिनै विद्युतीकरणको तयारी गरेको रवीन्द्र÷ढुङगाना जेभीका प्रतिनिधि दिनेश ढुङ्गानाले बताए । आर्थिक वर्ष २०८०÷८१ मा म्याग्दीका ११ ठाउँमा एक हजार ४३८ उपभोक्ता थपिएका थिए । हालसम्म म्याग्दी बितरण केन्द्रअन्तरर्गत करिब २३ हजार विद्युतका ग्राहक छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal