Skip to content

ग्राभेलिङ गरिएको ५ वर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्रे

nabil bank

बागलुङ । बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्रे गर्न सुरु गरिएको छ । बागलुङको बुर्तिबाङ–तमानखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र सुरु भएको हो । विसं २०७० मा ट्र्याक खुलेको सडकको कालोपत्र गर्न थालिएको हो । सडकको ट्र्याक खुलेको छ वर्षपछि विसं २०७६ मा ग्राभेलिङ गरिए पनि हालसम्म कालोपत्रे हुन सकेको थिएन ।

ग्राभेल गरेको सडक लामो समयसम्म कालोपत्र नहुँदा हिलाम्मे र धुलाम्मे बन्दा यात्रुले सास्ती खेप्नुपरेको थियो । यो सडक म्याग्दीसँग जोडिने सडक हो । तमानखोला पहिलो पटक कालोपत्र सडकले जोडिन थालेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताए । पालिकाको बजेटले निकै कम हुनेहुँदा सडक कालोपत्रे गर्न नसकिएको जनाउँदै प्रदेश सरकारले यस वर्ष बजेट विनियोजन गरेर काम अगाडि बढाएको उनले बताए।

सडक निर्माण भएको यत्तिका वर्षसम्म यहाँका हजारौँ नागरिक कच्ची सडकमै यात्रा गर्न बाध्य भएको अध्यक्ष बुढामगरले बताए । बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म जोड्ने सडकमा दुई वटा पुल चार वर्ष अगाडि मात्रै बनेपछि अहिले बाह्रै महिना पालिकाको केन्द्रसम्म यातायात सञ्चालन हुने उनको भनाइ छ ।

अध्यक्ष बुढामगरले भने, ‘भौगोलिक हिसाबले तमानखोला मिलेको छैन, यहाँ सानो विकासका लागि ठूलो बजेट खर्च गर्नुपर्छ, पालिकाको स्रोत र साधन निकै कम छ, यद्यपि आधारभूत विकास भने गरिरहेका छौँ, सडक कालोपत्र गर्न त हामीले चाहेर पनि सकिँदोरहेनछ, एक किलोमिटर सडक कालोपत्र गर्न लाखौँ रकम चाहिँदोरहेछ । यति लामो सडक कालोपत्र गर्न त पालिकाले एक आर्थिक वर्षको सबै बजेट यहीँ खन्याउँदै पनि पुग्दोरहेनछ ।’

सडक कालोपत्रेका लागि पूर्वधार विकास कार्यालय बागलुङले बोलपत्र आह्वान गरी एसी कन्स्ट्रक्सनलाई जिम्मा लिएको छ । निर्माण कम्पनीलेले सडक कालोपत्रका लागि रु. १२ करोड ७४ लाखमा जिम्मा पाएको हो । यस वर्ष गण्डकी प्रदेश कार्यालयले तीन करोडमात्रै बजेट विनियोजन गरेको छ ।

बहुवर्षे ठेक्काअन्तर्गत रहेको यो आयोजना विसं २०८३ साउन १९ गते सक्ने गरी जिम्मा पाएको एसी कन्स्ट्रक्सनका प्रमुख दीपक अदैले बताए । काम यसै सातादेखि सुरु गरेको उनले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime