Skip to content
Prabhu

पोखरामा विद्युतीय तार भूमिगत आयोजना धिमा गतिमा

nabil

गण्डकी । पर्यटकीय राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको भौतिक प्रगति हालसम्म जम्मा ५० प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजना सुस्त भएको बताए ।

‘अनेक अड्को र कारण देखाउँदै निर्माण कम्पनीले समयमा काम गर्न सकेको छैन’, उनले भने, ‘गत वर्ष माघमा थपिएको ठेक्का म्याद पनि सकिन लागेपछि पुनः म्याद थपका लागि प्रकृया अगाडि बढेको छ ।’ इन्जिनियर सुवेदीले अहिलेकै गतिमा काम भएमा आयोजनालाई पूर्णता दिन वर्षौं लाग्ने बताए । उनका अनुसार गत कात्तिकमा आयोजनाको प्रगति २५ प्रतिशत पुगेकामा त्यसयता वर्षदिनमा जम्मा २५ प्रतिशत प्रगति थपिएको हो ।

भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुरमा तार बिछ्याउन रु. २ अर्ब ५० करोड ३३ लाखमा ठेक्का लिएको थियो । ठेक्का सम्झौता भएको १५ महिनापछि २०८० वैशाखको अन्तिमतिर पोखरामा तार बिछ्याउने काम सुरु गरिएको थियो । इन्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले काम ढिलो सुरु भए पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापरबाहीका कारण आयोजना सुस्ताएको इन्जिनियर सुवेदीले बताए ।

‘चित्तबुझ्दो ढङ्गले आयोजनाको काम हुन सकेको छैन, केही समयदेखि काम नै रोकिएको छ, दसैँलगत्तै काम सुरु गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ’, उनले भने । पोखरा महानगरपालिका–१० कुँडहरचोकदेखि बुद्धचोकसम्म र लेकसाइडको गल्ली नं १५, १६ र १७ लगायत क्षेत्रमा तार बिछ्याउने काम भइसकेको इन्जिनियर सुवेदीले जानकारी दिए।

पोखरालाई विद्युतीय तारमुक्त बनाउन प्राधिकरणले वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन गरेको हो । आयोजनामा मानवीय जनशक्तिभन्दा बढी यन्त्र, उपकरणमार्फत काम हुने गरेको इन्जिनियर सुवेदीले बताए। आयोजनाअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिँहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्र बैंकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गागायत क्षेत्रमा तार भूमिगत गरिने भएको हो ।

मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने आयोजना कार्यालयले जनाएको छ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिच्छाइनेछ । ‘विद्युत्सँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिन्छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन्’, इन्जिनियर सुवेदीले भने, ‘पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउन लागिएको हो ।’

पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा रु. एक अर्ब ३० करोड खर्च हुने प्राधिकरणले जनाएको छ । तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्‍याउने काम पनि प्राधिकरण नै गर्नेछ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको इन्जिनियर सुवेदीले बताए।

तार भूमिगत गरेपछि ठाउँ–ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्‍याइने प्राधिकरणले जनाएको छ । विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ । भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने प्राविधिक बताउँछन् । तार बिछ्याउँदा ठूलो बजेट लाग्ने भए पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त हुने उनीहरूको भनाइ छ ।

पोखरा वितरण केन्द्रअन्तर्गत विद्युत्का ९४ हजार एक सय ६५ ग्राहक छन् । वितरण केन्द्रका आधारमा यो देशकै सबैभन्दा धेरै ग्राहक सङ्ख्या हो । काठमाडौँ उपत्यकापछि भरतपुर र पोखरामा उक्त आयोजना अघि बढेको हो । प्रभाव र उपयोगिता हेरेर पोखराका अन्य ठाउँमा पनि तार भूमिगत गरिने प्राधिकरणले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal