Skip to content
Prabhu

हमास प्रमुखको मृत्यु भएको इजरायली प्रधानमन्त्री नेतन्याहुद्वारा जानकारी

nabil

तेल अभिभ । प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास)का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति पुष्टि गरेका छन् ।

प्रधानमन्त्री नेतन्याहूले आफ्ना सहयोगीलाई हमास प्रमुखको मृत्युबारे इजरायली बन्धकका परिवारलाई जानकारी दिन पनि निर्देशन दिएका छन् ।

इजरायली रक्षा बल (आईडीएफ)ले गाजामा आफ्नो कारबाहीका क्रममा तीन हमास लडाकु मारिएको पुष्टि गरेको थियो । इजरायली आक्रमणमा मृत्यु भएका तीन लडाकुमध्ये एक हमासका प्रमुख याह्या सिनवार भएको बताइएको छ ।

आईडीएफले एक्समा एक पोस्ट सेयर गर्दै लेखेको छ, ‘गाजामा आईडीएफ अपरेसनको क्रममा तीनजना मारिएका थिए । आईडीएफ र आईएसएले आतंकवादीमध्ये एक याह्या सिनवार भएको सम्भावनाको वैज्ञानिक पुष्टि गर्न आवश्यक जाँच भइरहेको छ ।’

मंगलबार आईडीएफ र शिन बेट सुरक्षा निकायले अक्टोबर ७ मा भएको आक्रमणमा सहभागी हमासका तीन ‘आतंककारी’ हालैका दिनमा भएका हवाई आक्रमणमा मारिएको जनाएको छ । इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का उच्च पदस्थ नेता हसन नसरल्लाहको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो ।

यसअघि हमासका अर्का वरिष्ठ नेता इस्माइल हनियाको इरानमा मृत्यु भएको थियो । तेहरान र हमासले हनियाको मृत्यु भएको घटनामा आक्रमणको आरोप इजरायलमाथि लगाए पनि इजरायलले न त यो आरोप स्वीकारेको छ न त अस्वीकार नै गरेको छ ।

हालै आईडीएफले गाजामा हमास सरकारका प्रमुख राउही मुश्ताहा र हमासको राजनीतिक ब्युरोमा सुरक्षा जिम्मेवारी सम्हालेका समेह अल सिराजसहित हमासका उच्च पदस्थ अधिकारीहरूको मृत्यु भएको जनाएको थियो ।

टाइम्स अफ इजरायलका अनुसार मंगलबार आईडीएफले जाबालियामा भएको हवाई आक्रमण र भिडन्तमा हमासका करिब २० लडाकु मारिएको जनाएको छ ।  इजरायली सेनाका अनुसार युद्धका क्रममा सेनाले एउटा हतियार डिपो र अन्य हतियार पनि फेला पारी नष्ट गरेको छ ।

सेनाले भनेको छ, ‘यो अभियान आवश्यक भएसम्म जारी रहनेछ र योजनाबद्ध रूपमा आक्रमण र त्यस क्षेत्रमा रहेका आतंकवादी संरचनालाई पूर्ण रूपमा नष्ट गरिनेछ।’

सोमबार आईडीएफले उत्तरी गाजाका बेइट हनौन, जबालिया र बेइट लहियाका प्यालेस्टिनीहरूलाई गाजाको दक्षिणमा रहेको इजरायलद्वारा निर्दिष्ट मानवीय क्षेत्रमा स्थानान्तरण गर्न आदेश दिएको टाइम्स अफ इजरायलले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal