काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार भएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको तुलनामा चालु आवको तीन महिनामा १४३ प्रतिशतले नाफा बढेको हो ।
असोज मसान्तसम्ममा लघुवित्तले खुद नाफा १४३ प्रतिशतले बढाएर १ करोड ३४ लाख रुपैयाँ पुगेको छ । लघुवित्तले गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ८.३४ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १७.७७ प्रतिशत र सञ्चालन मुनाफा १ हजार १४२.५३ प्रतिशत बढेको छ ।
लघुवित्तको इम्पेरमेन्ट चार्ज ६३ लाखबाट घटेर ११ लाखमा सीमित भएसँगै सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १५ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ८८ पैसा पुगेको छ ।
असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५६.३३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ३१ पैसा रहेको छ । ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १५ करोड ८९ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा लघुवित्तले ४ अर्ब ४६ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्