Skip to content
Prabhu

आयुर्वेद चिकित्सालयमा बर्सेनि बिरामीको संख्यामा वृद्धि

nabil

देउखुरी । रोल्पा सिउलीबाङका ७१ वर्षीया सरुमा विक तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा भेटिए । पेट दुख्ने, खान मन नलाग्ने समस्याले चिकित्सालय आएका उनले धेरै ठाउँमा उपचार गर्दा पनि ठीक नभएपछि यहाँ उपचार गर्न आएको बताए।

उनका श्रीमान् जीतबहादुर पेट दुख्ने समस्या हुँदा यही चिकित्सालय आएका थिए। ‘यहाँ राम्रो उपचार हुन्छ, भन्ने सुनेर आएको हुँ’, उनले भने, ‘हामी जस्ता गरिबले सहजै उपचार पाउने अस्पताल रहेछ, यहाँ आएर उपचार गरेपछि मात्र थाहा भयो ।’

चिकित्सालय परिसरमै भेटिनुभएका घोराही उपमहानगरपालिका–९ कर्मटुवाका ७६ वर्षीय तिलकबहादुर खत्री हातखुट्टा दुख्ने, चिलाउने समस्या लिएर आएको बताए । ‘२५ रुपैयाँमा दर्ता गरेर उपचार गर्न पाइने रहेछ । उपचार पनि राम्रो रहेछ, मेरो समस्या कम भयो, त्यसैले डाक्टरले १५ दिनमा बोलाएका थिए र आएको हुँ,’ उनले भने । २३ प्रकारका अ‍ैषधि निःशुल्क पाएको र सस्तो भएको उनले बताए ।

चिकित्सालयमा अन्तरङ्ग, बहिरङग, कायाचिकित्सा, स्त्री/प्रसूति, ज्येष्ठ नागरिक सेवा, सुरक्षित मातृत्व, छ महिनासम्मका आमालाई औषधि, पञ्चकर्मसम्बन्धी सेवा, पूर्वकर्म, सेरापोक योगा, प्रोमोटिम योगा, सर्जरी, मलद्वार, पायल्स, फिस्टुलाको उपचार गरिने चिकित्सालयका सूचना अधिकारी वसन्तबहादुर केसीले जानकारी दिए । अस्पतालमा आउने बिरामीलाई भर्ना गर्नुपर्ने अवस्था आएमा न्यून शुल्कमा भर्ना गरिने उनले बताए ।

विभिन्न प्रकारका ‘थेरापी’ गरेर आयुर्वेदिक औषधिको प्रयोग गरी उपचार गरिने र उपचार पछि बिरामी निको हुनेक्रम बढेको उनको भनाइ छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख एवं निर्देशक डा सन्तोषकुमार ठाकुरले दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको बताए । चिकित्सालयमा क्षारसूत्र, पञ्चकर्म, अग्निकर्मलगायतका सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको उनले बताए ।

चिकित्सालयका अनुसार दाङसहित रोल्पा, सल्यान, रुकुम, डोल्पा, प्यूठान, सुर्खेत, नेपालगञ्ज लगायतका ठाउँबाट उपचारका लागि यहाँ बिरामी आउने गरेका छन् । प्रमुख ठाकुरले भने, ‘अन्य ठाउँमा उपचार गर्दा निको नभएका बिरामी यहाँ आएर उपचार गरी निको भएका थुप्रै उदाहरण छन् ।’

उनका अनुसार नेपालकै शय्यायुक्त आयुर्वेद चिकित्सालय अन्तर्गत बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय दोस्रो ठूलो हो । अस्पतालमा शल्यक्रियाका लागि आवश्यक सुविधा छ । यस चिकित्सालय विशेषगरी पायल्स र फिस्टुलाको उपचार केन्द्र बनेको उहाँले बताए । अझैपनि चिकित्सालयमा भौतिक पूर्वाधारको अभाव छ । ओपिडि र इन्डोर एउटै भवनमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रमुख ठाकुरले बताए।

यस चिकित्सालयलाई ५० शय्यामा स्तरोन्नति गर्न सके अझै राम्रो हुने उहाँको भनाइ छ । विसं २०४८ मा स्थापना भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयलाई हाल प्रादेशिक आयुर्वेद चिकित्सालयको रुपमा विकास गरिएको हो ।

चिकित्सालयका अनुसार पाँच वर्षयता बर्सेनि यहाँ उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ मा २४ हजार चार सय २१, आव २०७८/७९ मा ५० हजार ९६ र आव २०७९/८० मा ७१ हजार दुई सय २३ बिरामीले यहाँबाट उपचार सेवा लिएका थिए । गत आव २०८०/८१ मा उक्त सङ्ख्या वृद्धि भइ एक लाख नौ हजार आठ सय ५२ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal