Skip to content

महानगरपालिकाका जनप्रतिनिधिद्वारा टुकुचा कोरिडोर खुलाउन माग

nabil bank

काठमाडौं । संघीय राजधानी काठमाडौंको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले माग गरेका छन् । इच्छुमती किनारको दायाँबायाँ चार÷चार मिटरको मात्र कोरिडोर निर्माण गर्दा पनि राजधानीको सवारी ‘जाम’ कम हुने जनाइएको छ । काठमाडौं महानगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ इच्छुमती किनारको दायाँबायाँ चार÷चार मिटरको मात्र कोरिडोर निर्माण गर्दा पनि राजधानीको जाम कम हुने बताए।

काठमाडौं महानगरपालिका–२ मा इच्छुमतीको करिब ६२० मिटर लम्बाई पर्ने उल्लेख गर्दै उनले बहाब क्षेत्र चार मिटर छोडेर दायाँबायाँ चार/चार मिटरको सडक बनाउनुपर्ने स्थानीयवासीको माग रहेको बताए । काठमाडौँ उपत्यका विकास प्राधिकरणले पनि इच्छुमतीको बहाब क्षेत्र चार मिटर र दायाँबायाँ चार÷चार मिटरको मापदण्ड तोकेको छ ।

काठमाडौं महानगरपालिका–२ लाजिम्पाटको नीलसरस्वतीस्थान क्षेत्रमा करिब १ सय ५० मिटर सडक रहेको वडा कार्यालयले जनाएको छ । अर्को भागमा केही टहरा भएकाले त्यसलाई भत्काएर सडक खोल्न सकिने उनले जानकारी दिए । ६२० मिटर क्षेत्रमा ६ देखि सात वटा घर भने नदी किनारको चार मिटर मापदण्ड मिचेर निर्माण भएकाले त्यसलाई भत्काउनुपर्ने वडा अध्यक्ष श्रेष्ठ बताए । यस क्षेत्रमा नदीको मापदण्ड कसले कति मिचेका छन् भन्ने तथ्य पनि बेला बेलामा सार्वजनिक हुने गरेको छ ।

काठमाडौं महानगरपालिका–२८ ले शंकरदेव क्याम्पसअघिको करिब १०० मिटर क्षेत्रमा पनि कोरिडोर खुला गरेको छ । वडा नं २८ मा रहेको समाज कल्याण परिषद्को जग्गामा भने अहिलेसम्म कोरिडोर निर्माण हुन सकेको छैन । वडा नं २८ को सबै भागमा कोरिडोर निर्माण हुनुपर्छ भन्ने स्थानीयवासीको माग रेहको वडा अध्यक्ष भाइराम खड्गी बताए ।

वडा नं ११ को भद्रकाली प्लाजामा पनि करिब १०० मिटर इच्छुमती कोरिडोर खुला छ । बाँकी भागमा धेरै जग्गा सरकारी कार्यालयको पर्ने वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार बताए। सरकारी कार्यालयलाई ठाउँ छोडाएर राजधानीकोबीच भाग पारेर कोरिडोर बनाउनुपर्छ भन्ने विचार आफूले तत्कालीन महानगरपालिका सभामा विसं २०४९ देखि नै राख्दै आएको उनको भनाइ छ ।

नदी सभ्यता बचाउने सन्दर्भमा स्पष्ट नीति नभएकैले राजधानीको मध्यभाग भएर बग्ने इच्छुमती धेरै फोहोर भएको वडाध्यक्ष तण्डुकार बताए । राजधानीका नदीमा तीनै तहका सरकार मिलेर कोरिडोर निर्माण गर्न सके नदी सफाइका लागि पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।

बागमती, रुद्रमती (धोबीखोला), विष्णुमती, मनोहरालगायत नदी किनारमा बनेको कोरिडोरले सहज यातायात सुविधा दिएको छ । कोरिडोर निर्माण भएकै कारण नदीमा फोहर फाल्नेहरु समातिएर कानुनी कारबाहीको दायरामा परेको बागमती सफाइ अभियानकर्मी गोविन्द काफ्ले बताए । इच्छुमतीको सफाइका लागि पनि कोरिडोर खोल्नुपर्ने माग राजधानीमा बढ्न थालेको छ ।

इच्छुमती महानगरपालिकाका वडा नं १, २, ३, ४, ५, २८ र ११ क्षेत्र भएर बग्ने गरेको छ । इच्छुमती कोरिडोर खोल्न महानगरपालिका नै लाग्नुपर्ने वडा नं ११ का अध्यक्ष तण्डुकारको माग रहेको छ । कोरिडोरमा दुई पाङ्ग्रे र साना सवारीलाई प्रवेश गराउँदा ठूला सडकमा सवारी जाममा कमी आउने महानगरपालिकाका जनप्रतिनिधिको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi