काठमाडौं । काठमाडौंमा योमरी पूर्णिमा र ज्यापु दिवसको अवसरमा र्याली निकालिएको छ । इन्द्रचोकबाट आज बिहान १० बजेदेखि सुरु भएको र्याली वटु, न्युरोड हुँदै बसन्तपुर सभामा परिणत हुने छ । सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
र्यालीमा सहभागीहरु परम्परागत नेवारी पोसाकमा सजिएका छन् र धिमे बाजासहितका झाँकी प्रदर्शन गरेका छन् । र्यालीमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि सहभागी भएकी थिइन् ।
नयाँ धान भित्राएको खुसियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउने गर्छन् । मंसिर शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई ‘योमरी पुन्हि’ पनि भनिन्छ । योमरी एक परिकार हो । योमरीलाई नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।
योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् ।नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।







प्रतिक्रिया दिनुहोस्