Skip to content

टीकापुर उद्यानमा एकै दिन ३ लाख संकलन

कैलाली । कैलालीको टीकापुरस्थित टीकापुर बृहत् उद्यान (टीकापुर पार्क)मा नयाँ वर्ष लागेपछि पर्यटकको आगमन बढेको छ । उद्यानमा नयाँ वर्षको पहिलो दिन शनिबार १२ हजार बढी पर्यटक भित्रिएका छन् । पार्कमा शनिबार एकैदिन टिकट शुल्कबाट तीन लाख रुपैयाँ राजस्व सङ्कलन भएको जनाइएको छ ।

उद्यानमा आउनेहरू अधिकांश पार्कमै वनभोज खाने, पार्कसँगै जोडिएको कर्णाली नदीमा र्‍याफ्टिङ, जेट स्की, वाटरबोटमा आनन्द लिने गरेका उद्यानका इञ्चार्ज अर्जुन कुँवरले बताए । यस वर्षको पहिलो दिन हिजो नदीमा रमाउनेहरू पालो कुरेर बसेका थिए । वनभोजस्थलमा सयौँ समूहले खाना पकाएर खाने, नाचगान गर्नेलगायत मनोरञ्जनात्मक क्रियाकलाप गरेका उनले जानकारी दिए ।

कुनै बेला गुलाबको बगैँचाका नामले चिनिने टीकापुर पार्कमा यतिखेर रत्न उद्यान, ऐश्वर्य उद्यानलगायतका बगैँचामा थरिथरिका गुलाब फुलेका छन् । पार्कमा आउनेहरू महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम बाटिका, रत्न उद्यान, ऐश्वर्य उद्यानमा फोटो खिच्ने तथा घण्टौँसम्म यहाँ रमाउने गरेका स्थानीय टङ्क थापाले बताए । सुन्दर, शान्त र हराभरा रहेको उक्त पार्क पुग्ने सबैले आनन्द र रमाइलो महसुस गर्ने भएकाले पर्यटकको सङ्ख्या पनि बढ्न थालेको उनको भनाइ छ ।

सुर्खेतबाट ४० जनाको समूह लिएर पार्क घुम्न आउनुभएका हरि कार्कीको पार्कसहित पार्कको किनारमा रहेको कर्णाली नदीमा रमाइलो गरेका छन् । “पार्क सुन्दर छ भन्ने सुनेर नयाँ वर्षको दिन नयाँ ठाउँ घुमौँ भनी आएका हौँ”, उनले भने, ‘अलौकिक आनन्द मिल्छ भन्थे, साँच्चै रहेछ । टीकापुर एकपटक पुग्ने पर्ने ठाउँ रहेछ ।’

पार्कमा आएकाहरू यहाँ सबै संरचना सुन्दर भए पनि बालबालिकाका लागि खेल्ने संरचना बनाउन सुझाव दिन्छन् । महेन्द्रनगरबाट आएकी शोभा काफ्लेले बालबालिकाका लागि खेल्ने छुट्टै स्थान, पिङ, विभिन्न सामग्रीलगायत व्यवस्था हुनुपर्नेमा जोड दिए।

पार्कमा पहिलो दिन नै पर्यटकको घुइँचो हुनुका साथै वरपर रहेका होटल तथा पसलमा व्यापारसमेत बढेको थियो । टीकापुर बजारबाट चार किलोमिटर टाढा कर्णाली नदी किनारमा रहेको उद्यानमा नयाँ वर्षको केही दिनसम्म पर्यटकको घुइँचो लाग्ने गर्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi