Skip to content

भारतका निजी क्षेत्र र व्यवसायीलाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री डा. राणाको आग्रह

nabil bank

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका विभिन्न क्षेत्रमा लगानी बढाउन भारतका निजी क्षेत्र र व्यवसायीलाई आग्रह गरेकी छन् । उनले सडक, जलविद्युत्, रेलमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, केबल कार, कृषि, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन् ।

परराष्ट्रमन्त्री देउवाले नयाँ दिल्लीमा आयोजित नेपाल–भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै भनिन्, ‘भारत पहिल्यै नेपालमा ठूलो वैदेशिक लगानीकर्तामध्ये एक हो, हामी भारतीय निजी क्षेत्र र उद्यमीहरूलाई नेपालमा सजिलै उपलब्ध हुने लगानीका अवसरहरूको लाभ उठाउन प्रोत्साहित गर्छौं ।’

परराष्ट्रमन्त्री देउवाले नेपालका कृषि, पर्यटन, खेलकुद, सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफलको सम्भावना रहेको समेत उनले बताएकी छन् । ‘भारतका चेन होटेलहरू नेपालमा आएका छन्, नेपाल र भारतबीच क्रस–बोर्डर डिजिटल ट्रान्जेक्सनमा पनि उत्साहजनक प्रगति भएको छ’, उनले भनिन्, ‘यस्तोमा हामी दुवै देशका पर्यटक, व्यवसायी, विद्यार्थी, तीर्थयात्री र यात्रीहरूको सुविधाका लागि अन्तरदेशीय होटेल नेटवर्क र डिजिटल प्रणालीको सञ्चालनमा प्रतीक्षारत छौं ।’

देउवाले नेपालले लुम्बिनी र पोखरामा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल समेत बनाएको भन्दै यसको पूर्णतः सञ्चालनका लागि सहयोगसमेत मागेकी छन् । ‘हामीले यी विमानस्थलहरू उच्च लागतमा निर्माण गरेका छौं र तिनीहरूलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन हाम्रा नजिकका मित्र र छिमेकीको सहयोग चाहन्छौं’, उनले भनिन्, ‘हामी भारतको निजी हवाई सेवा सञ्चालकबाट यी दुई विमानस्थलमा सेवा सुरु गर्नका लागि सहयोग खोज्दै छौं ।’

यसले नेपाल–भारतबीचको आर्थिक सम्बन्ध मात्र नभई, दुई देशको जनस्तरमा रहेको सम्बन्धलाई पनि मजबुत बनाउने बताइन् । ‘नेपाल सरकारले यस्ता सेवाका लागि विदेशी विमान कम्पनीहरूलाई विभिन्न प्रोत्साहन पनि प्रदान गरिरहेको छ’, उनले थपिन्, ‘नेपालले भारतमार्फत थप हवाई मार्गका पनि माग गर्दै आएको छ, जसले पर्यटन तथा समग्र अन्तरदेशीय सञ्जाल निर्माणमा ठूलो फाइदा पुर्याउनेछ ।’

परराष्ट्रमन्त्री देउवाले नेपालले राजनीतिक रूपमा ऐतिहासिक रूपान्तरण गरेर देशमा शान्ति र लोकतन्त्र संस्थागत गरेको भन्दै अब मुलुकको प्राथमिकता तीव्र सामाजिक र आर्थिक विकास भएको बताइन् ।

‘जनतालाई शान्ति र समृद्धि सुनिश्चितता गर्न सकियोस् भनेर हाम्रो अबको प्राथमिकता भनेको सामाजिक र आर्थिक वृद्धिको सुनिश्चितता गर्नु हो,’ उनले थपिन् । परराष्ट्रमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा काठमाडौं भ्रमणमा आउँदा दुई देशबीचको सम्बन्ध कागजको नभई दिलको भएको बताएको स्मरण गराउँदै उनले भारत–नेपाल अत्यन्तै आत्मीय मित्रहरू भएको बताइन् ।

परराष्ट्रमन्त्री देउवाले भारतले छिमेक पहिले नीतिअन्तर्गत नेपाललाई प्राथमिकता दिएको भन्दै धन्यवाद समेत दिइन् । परराष्ट्रमन्त्री राणाले दुई देशबीचको सम्बन्धमा कतिपय यस्ता विषय हुने जसमा दुई देशबीच उच्च तहमा हुने औपचारिक संवादका क्रममा कुरा गर्न नसकिने उल्लेख गरिन् ।

‘तर, नेपाल–भारत आर्थिक सम्मेलन जस्ता मञ्चहरूले ती विषयमा कुराकानी गर्न, प्रगति गर्न सहयोग पुर्याउँछ’, उनले थपिन् । त्यसैले नेपाल–भारतबीच यो तहको संवाद सुरु हुनु एकदमै राम्रो विषय भएको भन्दै उनले क्षेत्रीय स्तरमा अरु देश पनि यस्ता सम्मेलनमा संलग्न भए अझ राम्रो हुने बताइन् । ‘यो विषय नेपाल र भारतको प्राथमिकतामा रहेकोमा म एकदमै खुसी छ’, उनले भनिन् ।

दिल्लीको ‘इण्डिया इन्टरनेश्नल सेन्टर’मा भइरहेको सम्मेलनको आयोजना काठमाडौँ विश्वविद्यालयको नेपाल सेन्टर अफ कन्टेम्पोररी स्टडिज र भारतको फाउन्डेसन अफ इकोनमिक ग्रोथ एण्ड वेलफेयरले गरेको हो ।

परराष्ट्र मन्त्री देउवाको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा भारतको नीति आयोगका सदस्य अरविन्द भिरमानी, फाउन्डेसन अफ इकोनमिक ग्रोथ एण्ड वेलफेयका सिइओ डा. चरण सिंह, काठमाडौं युनिभर्सिटीका रजिष्ट्रार डा. अच्युत वाग्ले, भारतका लागि पूर्वनेपाली राजदूत डा. लोकराज बराललगायत सहभागी थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime