काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साल २०२४ मा दुईवटा कम्पनीले मात्रै आईपीओ जारीका लागि अनुमति दियो । सन् २०२४ मा सेवोन अध्यक्ष खालिरहँदा त्यसको प्रभाव आईपीओ जारी गर्ने प्रक्रियामा परेको हो ।
२०२४ मा रिलायन्स स्पिनिङ मिल्स र गार्डियन माइक्रो लाइफले मात्रै आईपीओ जारी गर्ने अनुमति पाएका थिए । त्यसमध्ये पनि आईपीओ जारीका लागि अनुमति पाएको रिलायन्स स्पिनिङको आईपीओ विवादका कारण जारी नै हुन सकेन् भने मंसिर ७ गते आईपीओ जारीका लागि अनुमति पाएको गार्डिएन माइक्रो लाइफले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ निष्कासन गरिसकेको छ। सन् २०२४ मा अनुमति पाएको भए पनि आम सर्वसाधारणका लागि भने यो कम्पनीले सन् २०२५ लागिसके पछि मात्रै आईपीओ ल्याउने भएको हो ।
धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेशकुमार हमाल गत वर्षको पुस तेस्रो साता आफ्नो कार्यकाल सकेर बोर्डबाट बिदा भएपछि लामो समय बोर्ड पूर्णकालिन अध्यक्षविहीन बन्न पुग्यो । करिब ११ महिनापछि धितोपत्र बोर्डको अध्यक्षमा सरकारले सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ । यो ११ महिनामा अर्थ मन्त्रालयका सहसचिवहरुले धितोपत्र बोर्डमा अध्यक्षको भूमिका निर्वाह गरे पनि आईपीओ अनुमति दिन सकेनन् ।
हमाल बाहिरिनुअघि रिलायन्स स्पिनिङले आईपीओ अनुमति पाएको थियो भने श्रेष्ठ भित्रिएपछि गार्डिन माइक्रो लाइफले आईपीओ जारीको स्वीकृति पाएको हो । रिलायन्स स्पिनिङको आईपीओ गत असार २७ गतेबाट वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री खुला गरिने भनिएको थियो ।
कम्पनीको वित्तीय अवस्थालाई देखाएर आमसर्वसाधारणदेखि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिसम्म कुरा उठेको थियो । जस कारणले यो कम्पनीको आईपीओ जारी हुन नै सकेको छैन ।
रिलायन्स स्पिनिङले सर्वसाधारणलाई छुट्याइएको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्येबाट १० प्रतिशतले हुन आउने विदेशमा रहेका श्रमिकलाई १ लाख १५ हजार ५९६ कित्ता सेयर बिक्री गर्ने तयारी गरेको थियो । कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँ तोकिएको थियो ।
२०२४ मा आईपीओ जारी गर्नका लागि अनुमति पाउने अर्को कम्पनी गार्डियन माइक्रो लाइफले दोस्रो चरणमा सर्वसाधारणका लागि यही पुस २१ गतेदेखि आईपीओ बिक्री खुला गर्दै छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई आईपीओ जारी गरी बाँडफाँटसमेत गरिसकेको छ । कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गर्ने अनुमति पाएको छ ।
सोहीबमोजिम कम्पनीले नियमानुसार वैदेशिक रोजगारमा रहेका नेपालीलाई कुल अनुमतिको १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँबराबरको आईपीओ गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बिक्री गरेको थियो ।
अब कम्पनीले दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गर्ने छ ।












प्रतिक्रिया दिनुहोस्