Skip to content
Prabhu

सवारी साधनको भाडादर ३.३० प्रतिशत वृद्धि, अब कहाँ पुग्न कति ?

nabil

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको छ ।

यात्रुवाहक सवारीमा ३.३०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा शून्य दशमलव ८१ र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा शून्य दशमलव ०५ प्रतिशत भाडा वृद्धि गरिएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विगतदेखि सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानिँदै आएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरको यही पुस ११ गतेको सहमतिमा भाडा वृद्धि गरिएको विभागले जनाएको छ । निर्धारणका विभिन्न १३ सूचकलाई आधार मानी २०७८ असार २७ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरको सहमतिमा २०७८ असार २९ गते भाडादर समायोजन गरिएको थियो । त्यसपछि इन्धनमा पाँच प्रतिशत मूल्य घटी वा बढी हुँदा भाडादर समायोजन हुँदै आएको छ । अन्तिमपटक २०८० भदौ ३१ गते भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।

एउटै प्रदेशभित्र सञ्चालन हुने सवारीसाधनमा भने भाडा वृद्धि भएको छैन । विभागका महानिर्देशक राजीव पोखरेलले प्रत्येक वर्षको चैत महिनामा भाडा समायोजन गर्ने व्यवस्था भए पनि दुई वर्षदेखि समायोजन नभएकाले यसपटक गरिएको बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal