Skip to content

सजिलो नेपाली राइड प्लेटफर्ममा क्याप्टेन विजय लामा सह–संस्थापकको रूपमा आबद्ध

nabil bank

काठमाडौं । नेपाली राइड शेयरिङ प्लेटफर्म सजिलोमा क्याप्टेन विजय लामा सह–संस्थापकका रूपमा औपचारिक रूपमा जोडिएका छन् । काठमाडौं बिहीबार आयोजित कार्यक्रममा सजिलो साथीले आफ्नो यो महत्त्वपूर्ण कदमको घोषणा गरेको हो ।

सन् २०२२ मा स्थापना भएको सजिलो साथीले (सजिलो नेपाली राइड शेयरिङ एप )ले पहिलो चरणमा काठमाडौं उपत्यकामा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले चाँडै नै देशभर सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा बोल्दै सह–संस्थापक तथा प्रबन्ध निर्देशक दिवाकर खनालले नेपालमै पहिलो पटक जियो बेस्ड फेयर सिस्टम लागू गर्न लागेको जानकारी दिए ।

यससँगै, कम्पनीले वातावरणमैत्री प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीलाई प्राथमिकता दिएको छ । सजिलो नेपाली राइड–शेयरिङ एपले यात्रु र चालक दुवैको सुरक्षालाई ध्यानमा राख्दै शिखर इन्स्योरेन्ससँग सहकार्य गरी बिमा सुविधा प्रदान गरिरहेको छ । बिमाले प्रत्येक यात्रा सुरक्षाको प्रत्याभूति मात्र गर्दैन, आवश्यकता परेको खण्डमा तत्काल आर्थिक सहयोगसमेत उपलब्ध गराउँछ ।

कार्यक्रममा बोल्दै क्याप्टेन विजय लामाले सुरक्षित, सुलभ र सहज यात्राको अवधारणालाई प्राथमिकता दिँदै कम्पनीलाई नयाँ उचाइमा पुरÞ्याउने प्रतिबद्धता व्यक्त गरे । ‘हामी विदेशी एपमा निर्भर नभई आफ्नै एप प्रयोग गर्नेछौं,’ उनले भने । यो प्लेटफर्मले देशमै रोजगारी सिर्जना गर्न र आर्थिक स्रोतलाई स्वदेशमै राख्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । कोलावोरेटिभ क्याटलिस्ट प्रालिसँगको साझेदारीको औपचारिक घोषणा समेत कार्यक्रममा गरिएको छ । कम्पनीले सजिलोको हालैको लगानी सफल बनाउन महत्त्वपूर्ण योगदान पु¥याएको छ ।
सजिलो साथीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमिर लामाले बजारमा उपलब्ध अन्य सेवाभन्दा फरक सुविधाहरू उपलब्ध गराउने दाबी गरे । ‘हाम्रो प्रमुख चासो भनेको सुरक्षा हो,’ लामाले भने, ‘हामी चालकहरूलाई गर्वका साथ म राइड चालक हुँ भन्न सक्ने वातावरण बनाउन चाहन्छौं ।’

कम्पनीले हाल कमिसनमुक्त सेवा प्रदान गर्दै आएको छ । तर फागुन १ देखि बाइकका लागि १० प्रतिशत र ट्याक्सीका लागि ६ प्रतिशत कमिसन लिने योजना बनाएको छ । यो कमिसनबाट सङ्कलित १० प्रतिशत रकम चालकहरूको कल्याणकारी कोषमा जम्मा गरिनेछ । यो कोष उनीहरूको आपत्कालीन आवश्यकता पूरा गर्न प्रयोग हुनेछ ।

सजिलो साथीले आगामी ६ महिनाभित्र देशव्यापी सेवा विस्तार गर्ने र एक वर्षभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पिक अप सेवा सुरु गर्ने लक्ष्य राखेको छ । थप रूपमा, कम्पनीले चाँडै पार्सल र फुड डेलिभरी सेवा पनि सुरु गर्ने योजना बनाएको छ । चालकहरूको अतिरिक्त आय सुनिश्चित गर्न, १ दशमलव ५ किलोमिटरभन्दा बढी दूरीको लागि बाइकका लागि प्रतिकिलोमिटर १५ रुपैयाँ र ट्याक्सीका लागि ३५ रुपैयाँ अतिरिक्त भाडा प्रदान गरिनेछ ।

साथै, चालकले राइड अनुरोध स्वीकृत गरी पिक अप स्थानमा पुगिसकेपछि यात्रुले राइड रद्द गरेमा, चालकलाई क्षतिपूर्ति प्रदान गर्ने व्यवस्था गरिएको छ । सजिलो साथीले आफ्नो ’नेपालीहरूको लागि नेपाली एप’ भन्ने मूल उद्देश्यलाई आत्मसात् गर्दै यात्रु र चालक दुवैलाई सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime