Skip to content

स्वरोजगार बन्दै शारीरिक अपांगता भएकाहरु

nabil bank

दमक । यहाँको कमल गाउँपालिका–५ मंगलबारेका ४१ वर्षीय पिताम्बर खड्का हिँडडुल गर्न सक्नुहुन्न । शारीरिक अपाङ्गताका बाबजुद उनी अहिले स्वरोजगार बनेका छन् ।

सानैमा एउटा खुट्टामा समस्या भएपछि अपांगताको सिकार बनेका उनको कमाइ नहुँदा दैनिक जीवनमा आधारभूत आवश्यकता पूरा गर्न गाह्रो थियो । साथीभाईले पैसा कमाएको देख्दा उनलाई पनि आयआर्जनमा जोडिने इच्छा हुन्थ्यो ।

उनी र उनी जस्ता अन्यको इच्छा पूरा गर्न कमल अपाङ्गता समितिको संस्थागत प्रयत्नले अहिले मूर्तरुप लिएको छ । समितिले अहिले कमल अर्गानिक साबुन उत्पादन गरिरहेको छ । कमल गाउँपालिका–२ तोपगाछी र कमल गाउँपालिका–६ लखनपुरमा लघुउद्यमका रुपमा उद्यम सञ्चालनमा छ ।

कमल गाउँपालिकाले एक वर्ष अघि मात्रै कमल अपाङ्गता समितिसँगको समन्वयमा अपाङ्गता भएकालाई साबुन, हार्पिक, फिनेल जस्ता सामग्री बनाउने सीप सिकाएको थियो । त्यही तालिमबाट पालिकाले उद्यमशीलताका लागि ३० हजार रुपैयाँको बीउ पुँजीसमेत प्रदान गरेको छ । सो पुँजीबाट ५० जना अपाङ्गता भएकाले व्यावसायिक रुपमा उद्यममा जोडिएको उक्त समितिका अध्यक्ष पिताम्बर खड्काले जानकारी दिए।

‘हामी आफैँ के कस्तो आयआर्जनमा लाग्ने रु कसरी उद्यमी बन्ने भन्ने अन्योलमा थियौँ। गाउँपालिकाले सो सम्बन्धीको १५ दिने आधारभूत तालिम दिएपछि उद्यममा लागियो’, खड्काले भने, ‘यो लघु उद्यमले थोरै पनि हामी जस्ता लक्षित समुदायलाई आयआर्जनसँग जोडिन टेवा पुगेको छ, अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्ट्रिकोणसमेत फेरिँदै गएको छ ।’

उहाँकाअनुसार संस्थागत रुपमा अपाङ्गता भएका व्यक्तिले तयार गरेका घरायसी सामग्री पसल तथा हाटबजारसम्म पुर्याउन थालिएको छ । उपभोक्तालेसमेत उनीहरुले उत्पादन गरेको सामग्री रुचाएका छन् । गाउँघरमा पाइने तुलसी, निमपातलगायतका प्राकृतिक जडीबुटी सङ्कलन गरी साबुन तयार गरेको र यसैलाई ‘ब्राण्डिङ’का रुपमा विकास गर्न जुटिरहेको उहाँले बताउनुभयो ।

कमल अपाङ्गता समितिका सचिव कमल गाउँपालिका–६ निवासी लङ्कबहादुर खड्का पनि सहजै हिँड्डुल गर्न सक्नुहुन्न । आर्थिक अवस्था कमजोर भएका खड्काको अपाङ्गता कारण क्षमता भएपनि समाजले हेर्ने दृष्टिकोण फरक थियो । तर, पछिल्ला वर्ष उनी हातको सहाराले विद्युतीय सिटीसफारी चलाउँदै आएका छन् ।

सफारी चलाउँदा शारीरिक अपाङ्गताका कारण धेरै यात्रु चढ्न आनाकानी गर्ने गरेको उनको गुनासो छ । सिटीसफारी सञ्चालनसँगै उहाँ पनि हाल साबुन लघु उद्योगमा जोडिएका छन् । यस उद्यमले अपाङ्गता भएकाले पनि समाजमा आयआर्जन गर्न सक्छन् भन्ने प्रेरणा मिलेको उनले बताए ।

स्थानीय सरकार र अपाङ्गताका क्षेत्रमा काम गर्देआएका विभिन्न सङ्घ संस्थाबाट प्राप्त सहयोगका कारण आफूहरुलाई जीविकोपार्जनका क्षेत्रमा जोडिएर स्वरोजगार बन्न हौसला मिलेको उनले बताए। उनीहरुले दैनिक प्रयोग हुने घरायसी सामग्री अगरबत्ती, कुचो, नरिवलको झाडु, हार्पिक, फिनेल तथा साबुनलगायत उत्पादन गर्दै आएका छन् ।

त्यसैगरी दमक नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुले पनि विभिन्न उद्यम सञ्चालन गरेर स्वरोजगार बन्न थालेका छन् । पछिल्ला १० वर्षमा यस्ता लक्षित व्यक्ति आर्थिक रुपमा सबल बन्न विभिन्न उद्यमशीलतामा जोडिएको दमक–९ की अपाङ्गताको अधिकारका क्षेत्रमा काम गर्देआउनुभएकी पार्वता श्रेष्ठले बताए । राष्ट्रिय अपाङ्गता महासङ्घ नेपाल कोशी प्रदेशकी पूर्व अध्यक्षसमेत रहनुभएकी श्रेष्ठले अपाङ्गता भएकालाई स्वरोजगार बनाउन उद्यमशील अपाङ्गता होजियारी लघु उद्योग दुई वर्षदेखि सञ्चालनमा ल्याएको जानकारी दिए । हाल उनको उद्योगमा १२ जनाले रोजगारी प्राप्त गरेको उनले बताए । दमक–८ मा उक्त लघु उद्योग सञ्चालित छ ।

दमक–६ मा तीन दशक बढीदेखि ढुङ्गाको सिलौटा, जाँतो बनाउँदै आएका मुकेश सन्तराज अपाङ्गता भएका व्यक्तिका लागि अर्का प्रेरणाको स्रोत हुनुहुन्छ । ‘मुकेश शिलालेख’ खोलेर ढुङ्गाको सिलौटा, जाँतोलगायतका सामग्री तयार गर्दै आएका उनले आफू मात्र नभएर पाँच जनालाई रोजगारी प्रदान गरेका छन् ।

उहाँको सिङ्गो परिवार यही शिलालेखमा निर्भर रहेको र यसैबाट दमक–७ सयपत्री टोलमा घरजम गरी व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

पछिल्लो तथ्याङ्कअनुसार झापाका १५ वटै स्थानीय तहमा करिब २३ हजार नौ सय ८८ जना अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएकाले उत्पादन गरेका वस्तुले बजार पाउन निकै प्रतिस्पर्धा गर्नुपर्ने समस्या रहेको राष्ट्रिय अपाङ महासङ्घ नेपाल कोशी प्रदेशका संयोजक मदनकुमार बोहोरा बताए।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले अपाङ्गता भएकालाई सङ्गठितसँगै आयआर्जनको पाटोमा जोड्न स्थानीय सरकारले विभिन्न उद्यमशील क्षेत्रमा प्रोत्साहित गरेको बताए । अपाङ्गता भएका व्यक्ति विस्तारै समाजसँग जोडिन थालेको र यसले समाज रुपान्तरणमा सहयोग पुग्ने उनको धारणा छ । उनले भने, ‘समाजमा वहिष्कृत गरिएका यस्ता समुदायलाई आर्थिक रुपमा सशक्तीकरण गर्न तथा उद्यमशीलता बनाउन स्थानीय सरकारले विभिन्न पाटोमा सहयोग पुर्याँउदैआएको छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime