काठमाडौं । आज बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ । विभागको दक्ष जनशक्तिमार्फत ९ प्रकारका तरकारीको नमुना लिएर विषादी परीक्षण गरिएको हो ।
परीक्षणका क्रममा अधिकांश तरकारी खानयोग्य भेटिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार, बल्खु तरकारी बजारका ९ प्रकारका तरकारी नमुनाको परीक्षणमा २० प्रतिशतसम्म विषादी भेटिएको छ । उनले परीक्षण गरिएको सबै तरकारी खान मिल्ने रहेको बताए ।
आज बल्खुमा अनुगमन गर्यौं, बल्खुमा कालीमाटीबाट तरकारी आउने रहेछ । कालीमाटीबाट आएका तरकारीको बल्खुबाट नमुना संकलन गरेर परीक्षण गरेका छौं । २० जिल्लाहरू काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, नुवाकोट, रामेछाप, सर्लाही, धनुषा लगायतबाट आएका तरकारीहरूको नमुना संकलन गरेर परीक्षण गरेका छौँ,’ उनले भने ।
उनले अगाडि थपे, ‘नेपाल सरकारको मापदण्डअनुसार विषादीको अवशेष ३५ देखि ४५ प्रतिशत भेटियो भने होल्ड गर्छौं । त्योभन्दा बढी भयो भने फाल्नुपर्छ । आज बल्खुमा परीक्षण गर्दा ९ वटा नमुनाको परीक्षण गर्दा बढीमा २० प्रतिशतमात्रै पाएका छौँ । यो रायोको सागमा भेटिएको छ । यो ठिक छ ।’
सुवेदीले मोबाइल फुड ल्याब भ्यानबाट विभागले उपत्यकाका सबै तरकारी बजारमा जीवनाशक विषादीको परीक्षण गर्ने अभियान चलाइरहेको जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्