काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग सिंहदरबारमा भेटवार्ता गरेको छ।
उक्त भेटघाटमा आगामी २०८१ फागुन २६ र २७ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको तयारीका बारेमा छलफल भएको हो।चर्चाको मुख्य विषय अटोमोवाइल क्षेत्रमा तालिमको आवश्यकता र रोजगारको सम्भावनाहरू थिए। प्रतिनिधिहरूले अटोमोवाइल क्षेत्रमा आवश्यक जनशक्ति निर्माण, तालिम केन्द्रहरूको स्थापना र अन्तर मन्त्रालयीय सहकार्यका लागि विभिन्न कदमहरू उठाउने बारेमा विचार आदान–प्रदान गरे।
उक्त क्रममा, मन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर र सहसचिव दण्डुराज घिमिरेले पनि आफ्नो धारणा राखेका थिए। यस छलफलमा अटोमोटिभ स्किल डेवलपमेण्ट काउन्सिल (एयसडिसी) का कार्यसमिति सदस्य रितुन्च गुप्ता र प्रमुख कार्यकारी अधिकृत अरिण्डम लाहिरीले समेत आफ्ना विचार प्रस्तुत गरे।
नाडा र श्रम मन्त्रालयबीचको सहकार्यले अटोमोवाइल क्षेत्रमा रोजगारमूलक तालिमको विकास र प्रशिक्षार्थीहरूको रोजगारी सुनिश्चितता गर्न मद्दत गर्ने आशा व्यक्त गरिएको छ। यसै सन्दर्भमा, नाडा र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) बीच एक सम्झौतामा हस्ताक्षर गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।
साथै, श्रम मन्त्रालयले आगामी सम्मेलनमा नाडाको स्टल राख्ने र यस क्षेत्रमा तालिम र रोजगारका अवसरहरूमा सहकार्य गर्ने योजना बनाएको छ। उक्त भेटघाटमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती र अन्य केन्द्रीय कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।
गत जनवरीको १७ देखि २२ सम्म भारतको नयाँ दिल्लीमा सम्पन्न भारत मोविलिटी २०२५ को सन्दर्भमा नेपालमा दक्ष जनशक्ती तयार गर्न आवश्यक तालिम दिने विषयमा अटोमोटिम कम्पोनेन्ट मेनुफेक्चर्स एसोसिएसन एसिएमए, एयसडिसी र एनएडिएबीच त्रिपक्षीय चार बुँदे सझौतासमेत सम्पन्न भएको थियो ।












प्रतिक्रिया दिनुहोस्