Skip to content
Prabhu

संकटनजिक दूरसञ्चार क्षेत्र, सुधारमार्फत संरक्षणमा जोड, नयाँ शैलीबाट काम गर्न सेवा प्रदायकलाई सञ्चारमन्त्रीको आग्रह

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्र सङ्कटनजिक पुगेकोेले सरकारले सुरक्षा र संरक्षणका लागि विशेष जोड दिनुपर्ने सरोकारवालाहरुले जनाएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौंमा आयोजना गरेको रिभाइटलाइजिङ द टेलिकम इन्डष्ट्री’ विषयक कार्यक्रममा सरोकारवालाहरुले टेलिकम उद्योगमा राज्यको सकारात्मक हस्तक्षेप अपरिहार्य भइसकेको बताएका हुन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दूरसञ्चार विज्ञ मनोहरकुमार भट्टराईले डिजिटल अर्थतन्त्र संबर्द्धनका लागि मोबाइल उद्योग आधारभूत माध्यम भएको बताए । पछिल्लो केही समय टेलिकम क्षेत्रको योगदान ३.६ प्रतिशतबाट १.८ प्रतिशतमा झरेको तथ्यांक उनले प्रस्तुत गरे ।

global
अर्घाखाँची सिमेन्ट

 

देशभर ९० प्रतिशत जनसंख्यामा फोरजी कभरेज भए पनि १० जना प्रयोगकर्तामा दुई जनाले मात्रै नियमित डेटा उपयोग गर्ने गरेको उनले तथ्य प्रस्तुत गरे । नेपालको मोबाइल इन्टरनेट प्रयोग अरु छिमेकी देशहरुको तुलनामा धेरै नै कमजोर रहेको उनको भनाई थियो ।

फोरजीको प्रयोग बढ्दै जाँदा अपरेटरहरु आफ्नो अस्तित्व जोगाउन ठूलो लगानी गर्न थाले पनि सोहीअनुसार प्रतिफल नआउँदा सेवा प्रदायकहरुको व्यापारमा ह्रास देखिन थालेको भट्टराईले बताए । दूरसञ्चार क्षेत्रमा पुनर्लगानी बढी हुने भएकाले पनि आम्दानीमा दबाब परेको उनको भनाइ थियो ।

सेवाप्रदायकहरुलाई वार्षिक ६ अर्ब रुपैयाँ मात्रै आफ्नो सेवा सहज सञ्चालन गर्न चाहिने भएकाले आम्दानी निरन्तर घट्नुले अवस्था सुखद नदेखिएको उनको धारणा थियो ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नेपालको दूरसञ्चार क्षेत्र ठूलो संकटको नजिक आइपुगेको भन्दै सबै सचेत हुनुपर्ने अपिल गरे । जीएमएसको सूचीमा दुई वर्षअघि ११७ स्थानमा रहेको नेपाल अहिले ११९ औं श्रेणीमा झरेकोमा चिन्ता व्यक्त गर्दै सहज वातावरण नहुँदा यस क्षेत्रमा विदेशी लगानी आकर्षित हुन नसकेको उनको भनाइ थियो ।

नेपालको दूरसञ्चार क्षेत्रको व्यापार निरन्तर ओरालो लाग्दै गएकाले यसबाट सरकारलाई जाने करको दर पनि निरन्तर घटिरहेकोले यस्तो अवस्थामा सबै गम्भिर हुनुपर्ने उनले बताए । कायुमोभले नियामक नेपाल दूरसञ्चार प्राधिकरणको भूमिका सेवा प्रदायकहरुलाई सहजीकरणमा बढी केन्द्रित हुनुपर्नेमा राजस्व संकलनमा बढी ध्यान दिएकोमा चिन्ता व्यक्त गरे ।

फोरजी विस्तारमा अपरेटरहरुले ठूलो लगानी गरिसकेको अवस्थामा फाभइजीका लागि राज्यले स्पेक्ट्रमको बोलकबोल अघि बढाए सहभागी हुन तयार रहे पनि उपयुक्त स्पेक्ट्रमको सुनिश्चितता हुनुपर्ने उनको भनाइ थियो । उनले सन् २०२५ भित्रै एनसेलले थ्रीजी सेवा बन्द गर्ने तयारी गरिरहेको र यसका लागि सरकारले भिओएलटीई प्रविधि नचल्ने फोनको आयातमा कडाई गर्नुपर्ने बताए ।

यसका साथै अब नेपालको टेलिकम व्यापार सब्स्क्रिप्सन मोडलमा लैजान ढिलो गर्न नहुने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले देशभर फोरजीको कभरेज शतप्रतिशत नपुगेको अवस्थामा त्यसलाई वर्षदिन भित्र पूरा गर्ने बताए । उपभोक्ताको क्षमता अनुसार तत्काल टुजी बन्द गर्नुभन्दा सुरुमा थ्रीजी बन्द गर्नु उपयुक्त हुने उनको धारणा थियो ।

पछिल्लो समय दूरसञ्चार सेवाको गुणस्तर निरन्तर घट्दै गएको बताउँदै भण्डारीले त्यसमा सुधार आवश्यक रहेको बताए । दूरसञ्चार सेवाको आकार घट्यो भन्नु गलत भएको भन्दै टेलिकमबाट आइएसपीमा व्यापार सिफ्ट भएको उनको तर्क छ । दूरसञ्चार क्षेत्रमा नयाँ लगानी न्यून बन्दै गएको अवस्थामा व्यापार बढाउने उपायहरुमा ध्यानकेन्द्रित हुनुपर्ने उनको सुझाव थियो । फाइभजी देशका मुख्य ८ सहरमा सुरु गर्न सकिने भन्दै भण्डारीले ज्यादै प्रविधि महँगो छ भन्नुमा सत्यता नरहेको तर्क गरे ।

फाइभजीका लागि अपरेटरहरुले निवेदन दिएको एक हप्ताभित्र स्वीकृति दिन प्राधिकरण तयार रहेको अध्यक्ष भण्डारीले जानकारी दिए । वाइफाई मोबिलिटीले दूरसञ्चार अपरेटरहरुको आम्दानीमा असर परिरहेको गुनासो सम्बन्धमा छलफल आवश्यक रहेको उनको भनाई थियो ।

दूरसञ्चार कम्पनीको कुल आम्दानीको ४८ प्रतिशत राज्यलाई विभिन्न शीर्षकमा कर जाने अवस्थाको अन्त्य हुन जरुरी रहेको पनि उनको भनाइ थियो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चार क्षेत्रलाई व्यवस्थित र चुनौतीबाट पार लगाउन आवश्यक रहेको बताए । मन्त्री गुरुङले दूरसञ्चार अपरेटरहरुलाई नयाँ शैलीसहित काम गर्न सुझाव दिए । घट्दो आम्दानीको समस्या समाधान गर्न टेलिकम कम्पनीहरुमा नयाँ शैली आवश्यक रहेको औंल्याउँदै मन्त्री गुरुङले कानुन सुधारमा सरकार गम्भीर रहेको बताए ।

नियामकीय भूमिका पर्याप्त नपुगेको स्वीकार्दै उनले नयाँ दूरसञ्चार ऐनको मस्यौदा निर्माणको चरणमा रहेको जानकारी दिए । अनुमतिपत्र शुल्क, नयाँ प्रविधिलगायतका विषयलाई समेटेर समयसापेक्ष बनाउने गरी नयाँ कानुनको मस्यौदा निर्माण गर्ने काम भइरहेको पनि उनले बताए ।

नियामकीय निकाय दूरसञ्चार प्राधिकरणलाई पक्षपाती नभएर नियमनको काम गर्न उनले सो क्रममा निर्देशन दिए । प्राधिकरणलाई सहजकर्ताको भूमिका निभाउन सुझाव दिँदै बलियो नियामकीय निकाय बन्न उनले आग्रह गरे ।

२० अर्ब रुपैयाँको महँगो नवीकरण शुल्कको भारीलाई फेर्न खोजेको भन्दै अब सरकारले नयाँपनसहित दूरसञ्चार क्षेत्रलाई अघि बढाउन खोजेको उनले बताए । दूरसञ्चार क्षेत्रको सिधा सञ्जाल नेपालको डिजिटलाइजेसनमा महत्वपूर्ण हुने भएकोले यस क्षेत्रमा रहेका समस्या सुधार गर्न आफू प्रतिबद्ध रहेको मन्त्री गुरुङले बताए । दूरसञ्चार क्षेत्रबाट आउने राजस्व निरन्तर घट्दै गएको अवस्थामा त्यसलाई बढाउन आफू जिम्मेवार भएर अघि बढ्ने उनले बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टेलिकम कम्पनीहरुको वित्तीय अवस्था बिग्रँदै गएको अवस्थाले चिन्ता थपिएको बताइन् । नियमन, कार्यान्वयन र योजना तर्जुमा गर्ने सबै निकाय एकै ठाउँमा बसेर निकास दिनुपर्ने बेला आएको उनको भनाई थियो ।

कानुनलाई हुबहु कार्यान्वयन गर्न उनले सबै सेवा प्रदायकहरुलाई उनले आग्रह गरिन् । कुनै समय छ वटा दूरसञ्चार सेवा प्रदायक र अस्तित्वमा रहेकोमा अहिले दुईवटामा झर्नुले यस क्षेत्रलाई थप जोखिमपूर्ण बनाएको उनको भनाई थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal