Skip to content

टेस्लालाई उछिन्दै बीवाईडीको वार्षिक बिक्री पहिलो पटक १०० अर्ब डलर नाघ्यो

nabil bank
एजेन्सी । चीनको विद्युतीय गाडी उत्पादक बीवाईडीको वार्षिक बिक्री पहिलो पटक १०० अर्ब डलर नाघेको छ । जसले देशभित्रको बजारमा प्रभुत्व कायम गर्दै अन्तर्राष्ट्रिय विस्तारलाई तीव्र बनाइरहेको छ ।
शेन्जेनमा रहेको बीवाईडीले गत वर्ष आफ्नो आम्दानी २९ प्रतिशतले वृद्धि गर्दै १०७ अर्ब डलर पु¥याएको बताएको छ । जुन विश्लेषकहरूले अनुमान गरेको भन्दा बढी हो । सोही अवधिमा कम्पनीको खुद नाफा ३४ प्रतिशत बढेर ४० अर्ब युआन पुगेको छ ।
अमेरिकी प्रतिस्पर्धी टेस्लाले पूर्णतः विद्युतीय गाडी मात्र बिक्री गर्ने हुँदा यसको आम्दानी ९८ अर्ब डलरमा सीमित रह्यो । जबकि बीवाईडीले हाइब्रिड गाडीहरूको पुनःउत्थान भएको चिनियाँ बजारमा फाइदा उठाउन सफल रह्यो ।
चीनको सबैभन्दा ठूलो विद्युतीय सवारीको बजारमा लामो समयसम्म चलिरहेको मूल्य युद्धपछि बीवाईडीले पनि आक्रामक मूल्य रणनीतिबाट पछि हटेर नाफा बढाउने रणनीतिमा ध्यान दिन थालेको छ ।  अटो विश्लेषक सेरेना शेनका अनुसार, “बीवाईडी जस्ता अग्रणी कम्पनीहरूले अब बजार हिस्सा विस्तार गर्न मूल्य घटाउने रणनीति छोडेर नयाँ मोडलहरू ल्याउने योजनाका साथ अद्यावधिक गरेर खुद्रा मूल्य बढाउने प्रयास गरिरहेका छन् ।”
कम्पनीका लागि यो आर्थिक वर्ष निकै महत्वपूर्ण रह्यो । यस वर्ष, बीवाईडीले आफ्नो गाडीहरूलाई थप आकर्षक बनाउन नयाँ प्रविधिहरू समावेश गरेको छ, जसमा ‘गड्स आइ’ नामक प्रविधि समावेश छ ।
संस्थापक वाङ चुआनफुले गत हप्ता एक नयाँ ब्याट्री चार्जिङ प्रणाली अनावरण गरेका थिए । जसले ग्राहकहरूलाई विद्युतीय सवारी जम्मा पाँच मिनेटमै चार्ज गर्न मद्दत गर्ने कम्पनीको दाबी छ । यो घोषणासँगै कम्पनीको सेयर मूल्य कीर्तिमानी उचाइमा पुगेको थियो ।
यद्यपि, शेयर मूल्य अघिल्लो हप्ता उच्च विन्दुमा पुगेपछि केही घटेको छ, तर गत १२ महिनामा यसको सेयर ९१ प्रतिशतले बढेको छ । सोमबार हङकङ स्टक एक्सचेन्जमा यसको सेयर मूल्य ३ प्रतिशतले वृद्धि भएको थियो ।
यसको विपरीत, टेस्लाको सेयर मूल्य भने यस वर्ष ३२ प्रतिशतले घटेको छ । डिसेम्बरमा डोनाल्ड ट्रम्पको चुनावी विजयपछि कीर्तिमानी उच्च विन्दुमा पुगेको टेस्लाको सेयर त्यसपछि निरन्तर ओरालो लागिरहेको छ ।
बीवाईडीले चीनबाहिर पनि आफ्नो बजार विस्तारलाई तीव्र बनाउँदै गएको छ । कम्पनीले युरोपदेखि दक्षिणपूर्वी एसियासम्मका बजारहरूमा भोल्क्सवागन र टोयोटा जस्ता परम्परागत कार निर्माता कम्पनीहरूलाई प्रतिस्पर्धा दिन खोजिरहेको छ । कम्पनीले गत जुलाईमा थाइल्यान्ड र उज्बेकिस्तानमा कारखाना सञ्चालनमा ल्याएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime