Skip to content

बागलुङ नगरपालिका ३६ करोड लागतमा फोहोर व्यवस्थापन गर्दै

nabil bank

बागलुङ । बागलुङ नगरपालिकाले नगरभित्रको फोहाेरलाई स्रोतबाटै संकलन गर्ने र ल्यान्डफिल्डसाइटमा प्रोशोधन गरेर बिक्री गर्ने योजना कार्यान्वयनमा ल्याएको छ ।

नगरपालिकाले नगर क्षेत्रमा सङ्कलन हुने फोहोरलाई पुनः प्रयोग र अन्य फोहरलाई प्रशोधन गर्नेगरी नमूना ल्यान्डफिल्डसाइट निर्माण गरिसकेको छ । आधा दशकदेखिको फोहर व्यवस्थापनको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नगरपालिकाले फोहोर प्रशोधनको जिम्मा समानता अभियान नेपाललाई दिएको हो।

फोहोर व्यवस्थापनमा चुनौती व्यहोरिरहेको नगरले समानता अभियान नेपालसँग फोहर व्यवस्थापनको सम्झौता गरेको नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । उनका अनुसार स्रोतबाटै फोहर सङ्कलनका लागि बजारभरि १५ हजार डस्विन वितरण गरिएको छ ।

समानता अभियानका चन्द्रकान्त पौडेल र बागलुङ नगरपालिका प्रमुख श्रेष्ठले ३६ करोड ७७ लाख रूपैयाँ लागतमा नमूना फोहोर प्रशोधन केन्द्र निर्माणका लागि सम्झौता गरेको नगर कार्यालयले जनाएको छ ।

नगरपालिकाले पाँच प्रतिशत र अभियानले ९५ प्रतिशत आर्थिक भार व्यहोर्दै फोहर व्यवस्थापन गर्न ३६ करोड ७७ लाख रूपैयाँ खर्च हुने छभने प्रशोधनबाट निकालिएको फोहरबाट अत्यावश्यक तथा घरायसी सामग्री बनाउन सकिने श्रेष्ठको भनाइ छ ।

हाल फोहर फालिएको बागलुङ–१ स्थित मालढुङ्गामा व्यवस्थापन गरिने बताउँदै उनले प्रशोधन गरिएको फोहर व्यवस्थापन केन्द्रलाई अध्ययन अवलोकन तथा पर्यटकीयस्थलका रूपमा विकास गरिने जानकारी दिए ।

केन्द्रका लागि तत्काल चाहिने केही उपकरण र सवारीसाधन अभियानबाट सङ्कलन गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । फोहर व्यवस्थापन गर्दा डम्पिङसाइट दुर्गन्धित नहुने, पुनः उपयोग गरेर फोहोरबाटै पैसा कमाउन सकिनेलगायत लक्ष्य राखिएका उनले बताए ।

‘फोहोर व्यवस्थापनको चुनौती बढिरहेको सन्दर्भमा नगरपालिकाले साझेदार निकायसँग मिलेर काम गर्न थालेको छ, नगरपालिको दुई करोड रूपैयाँ लागतमा फोहर प्रशोधन केन्द्र निर्माण गरिसकेको छ, फोहर प्रशोधनको काम यथाशीघ्र सुरु हुन्छ’, श्रेष्ठले भने, ‘फोहर प्रशोधन केन्द्र अब दुर्गन्धरहित बनाएर पर्यटकीय केन्द्रका रूपमा विकास गर्नेछौँ ।’

नगरपालिकाले यसअघि तीन प्रकारका बाल्टिन दिएर फोहर संकलनको काम थालिसकेको छ । ती फोहर कसरी संकलन गर्ने भन्नेबारेमा बालबालिकाको इको क्लब गठन गर्ने, अभिभावकलाई सचेतना बढाउने काम पनि गरिने नगरप्रमुख श्रेष्ठले बताए । आगामी दिनमा प्रदूषणरहित नगर बनाउने, बायोग्यास प्लान्ट निर्माण र फोहर व्यवस्थापन नजिकै स्विमिङ पुल बनाउने योजना रहेको उनले उल्लेख गरे ।

उक्त स्थानमा तीन खण्ड बनाएर कुहिने, नकुहिने, सिसाजन्यलगायत खतरा फोहरको व्यवस्थापन गर्न केही संरचनासमेत नगरपालिकाले बनाइसकेको छ । विसं २०५४ देखि नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहर फालेको थियो । कुहिने र नकुहिने फोहर एकै ठाउँमा फाल्दा यहाँको १० रोपनी जग्गा भरिएको थियो । कुहिने फोहर कम्पोस्ट मल बनाउने र नकुहिने प्लास्टिकजन्यलाई पुनः प्रयोगमा पठाउने लक्ष्य राखिएको नगर कार्यालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime