काठमाडौ । काठमाडौको नक्सालस्थित नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
मुलुकी ऐन ठगीको महलको १ र २ नम्बर तथा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ र २ कसुरमा मुद्दा चलाइएको हो ।
कार्यालयले बाल मन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यमकुमार आले, दिपकदास श्रेष्ठ, प्रवीणराज जोशी र मुरारीनिधि तिवारी विरुद्ध मुद्दा दायर भएको छ ।
यस्तै पुरुषोत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई प्रतिवादी बनाइएको छ । आरोप प्रमाणित भएमा उनीहरुलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।
यसअघि २०८१ वैशाख २७ गते बाल मन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जसमध्ये तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेकोमा बयान पछि हाजिरी जमानीमा छाडिएको थियो ।






प्रतिक्रिया दिनुहोस्