Skip to content

खाडी देशमा अर्बौ डलरको सम्झौता, आखिर ट्रम्प के चाहन्छन् ?

nabil bank

एजेन्सी । भ्लाद्मिर लेनिनले भनेका थिए, “धेरै दशकसम्म केही हुँदैन र केही हप्तामा धेरै दशक बितेझैं लाग्छ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रँपसँग सम्बन्धित पछिल्लो हप्ताको कूटनीतिक तीव्रताले देखाउँछ कि लेनिनले केही हदसम्म ठीकै भनेका थिए ।

अमेरिका फस्र्टको नारामा विश्वास राख्ने एक राष्ट्रपति पछिल्लो केही दिनदेखि विश्व मञ्चमा आफ्नो छवि बनाउने प्रयत्नमा व्यस्त छन् । गत हप्ता ट्रम्पले खाडी मुलुकहरूसँग ठूला व्यापारिक सम्झौताहरू गरे, सिरियामाथिको प्रतिबन्ध हटाए, र एक अमेरिकी नागरिकको रिहाइका लागि हमाससँग संवाद गरे । त्यस्तै, यमनमा हुथी विद्रोहीमाथि भएका सैन्य आक्रमणहरू अन्त्य गराए, चीनसँग ट्यारिफसम्बन्धी सम्झौता गरे, र इरानसँग परमाणु सम्झौतामाथि चुपचाप वार्ता पनि अगाडि बढाइरहेका छन् ।

भारत–पाकिस्तानबीच भएको हालको संघर्षमा युद्धविराम गराएको दाबी पनि ट्रम्पले गरे।

यी सबै घटनाक्रम यति तीव्र गतिमा भएका छन् कि अमेरिकाका मित्र राष्ट्रहरू र विरोधीहरू दुवै तालमेल मिलाउन संघर्ष गरिरहेका छन् ।

लन्डनका एक राजदूत भन्छन्, “वाह… जे भइरहेछ त्यसको पछाडि लागिरहनु नै असम्भवजस्तै भएको छ ।”
यस व्यस्त हप्तामा ट्रम्पको उदीयमान विदेश नीतिबाट के बुझ्न सकिन्छ ?

साउदी अरबको यात्रा
राष्ट्रपति ट्रम्पले फेरि एकपटक खाडी राष्ट्रहरूको भ्रमणबाट आफ्नो कूटनीतिक अभियानको सुरुवात गरे । रियादमा उनले दिएको सम्बोधनमा उनले स्पष्ट पारे कि उनी मध्यपूर्वमा अराजकता होइन, व्यापार चाहन्छन् । उनले भने, “म यो क्षेत्रलाई आतंकवादको निर्यातकर्ता होइन, प्रविधिको निर्यातकर्ता बन्ने देख्न चाहन्छु ।”

उनको दृष्टिकोण एक यस्तो विश्वतर्फ उन्मुख छ जहाँ मुनाफामार्फत शान्तिको बाटो खोजिन्छ । यही भ्रमणको क्रममा धेरै सम्झौताहरूमा हस्ताक्षर गरियो, जसअनुसार अमेरिकामा ६०० अर्ब डलरको लगानी आउने बताइयो । तर धेरै कूटनीतिज्ञहरूले ती सम्झौताहरूको गम्भीरतामाथि प्रश्न उठाएका छन्, उनीहरूको बुझाइमा ती सम्झौता भन्दा बढी ‘प्रदर्शन’ थिए ।

भारत–पाकिस्तान संघर्ष
ट्रम्पको भाषणमा जलवायु परिवर्तन, लोकतन्त्र वा मानवअधिकारको चर्चा थिएन । बरु उनले पश्चिमी राष्ट्रहरू अतीतमा कसरी अरूलाई शासनको पाठ पढाउँथे भन्ने कडा आलोचना गरे । ट्रम्प भन्छन्, “न्याय गर्नु भगवानको काम हो, मेरो काम भनेको अमेरिका जोगाउनु हो ।”

भारत–पाकिस्तानबीचको पछिल्लो झडपमा ट्रम्प प्रशासन सुरुदेखि नै सजग देखियो । उप राष्ट्रपति जे.डी. वेंसले भने, “यो लडाइँ हाम्रो काम होइन ।” तर अन्त्यमा ट्रम्प र विदेश मन्त्री मार्को रुबियोले दुवै परमाणु शक्ति राष्ट्रहरूलाई तनाव कम गर्न दवाव दिए ।

युद्धविरामपछि ट्रम्पले अमेरिकी कूटनीतिक हस्तक्षेपको दाबी गरे तर भारतले यसलाई अस्वीकार ग¥यो र द्विपक्षीय सम्वादको परिणाम भएको स्पष्ट ग¥यो ।

ट्रम्पको बदलिँदो व्यवहार
विदेश नीति अहिले पूर्णतः ट्रम्पको वरिपरि घुमिरहेको छ ।

सिरियामा नयाँ राष्ट्रपति अहमद अल–शराबाट भेटघाट गरी प्रतिबन्ध हटाउने निर्णय पूर्णतः ट्रम्पको व्यक्तिगत निर्णय थियो । धेरैले यसलाई साउदी अरब र टर्कीको लबिङपछि लिइएको कदम मानेका छन् । तर अमेरिकी कूटनीतिज्ञहरू चकित छन् – किनभने निर्णय विदेश मन्त्रालयको औपचारिक प्रक्रिया बिना भएको थियो ।

र, ट्रम्प बारम्बार आफ्नो धारणा बदल्ने नेता हुन् । जस्तै केही साता अघि उनले चीनमाथि १४५ प्रतिशत ट्यारिफ लगाए तर अहिले सम्झौता गरे । उनको शैली स्पष्ट छ – पहिले धम्की, फेरि वार्ता, र

अन्त्यमा सम्झौता ।

रुस–युक्रेन युद्ध
ट्रम्पको सौदाबाजीको रणनीति ट्यारिफ जस्ता विषयमा काम गर्न सक्छ, तर युद्धजस्ता दीर्घकालीन समस्यामा कम प्रभावकारी हुन्छ । युक्रेन युद्धमा ट्रम्पको नीति अस्थिर देखिएको छ । एक दिन उनले युरोपेली नेताहरूलाई प्रतिबन्धको चेतावनी दिन सहयोग गरे, अर्को दिन तुरुन्तै रुस–युक्रेन वार्ताका लागि पुतिनको प्रस्तावमा सहमति जनाए । त्यसपछि फेरि आफ्नै भनाइ परिवर्तन गर्दै भने – वार्ता केवल तब सफल हुन्छ जब उनी र पुतिन व्यक्तिगत रूपमा भेट्छन् ।

एक कूटनीतिज्ञको भनाइ अनुसार उनीहरूलाई साँच्चै थाहा छैन कि युक्रेन युद्धमा के गर्न चाहन्छन् ।

इजरायलप्रति ट्रम्पको व्यवहार
ट्रम्पले यमन युद्धविराम र इरानसँगको वार्ता दुई यस्ता निर्णय थिए जुन इजरायलको चाहनाविपरीत थिए । प्रधानमन्त्री नेतन्याहू ट्रम्पका शपथ ग्रहणपछि ओभल अफिस पुग्ने पहिलो नेता भए तापनि ट्रम्पले हालै इजरायलको उपेक्षा गरेका छन् । उनी बिना इजरायल भ्रमण मध्यपूर्व भ्रमणमा गए, र इजरायलको इच्छाविपरीत सिरियामाथिको प्रतिबन्ध हटाए ।

अन्ततः, के परिवर्तन भयो ?
सबै काम हुँदा पनि गाजामा युद्ध जारी छ, शान्ति प्रयास विफल छन् । इरानसँगको सम्भावित सम्झौता निकै कमजोर देखिन्छ । युक्रेनमा युद्ध अन्त्य हुने सङ्केत छैन । ट्रम्पको लक्ष्य साउदी अरब र इजरायलबीच सम्बन्ध सामान्य बनाउने हो, तर त्यो अझै टाढा छ ।

उनको विचारधारा व्यापारमा आधारित देखिन्छ – संघर्ष समाधानको लागि पूँजीवाद’ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime