Skip to content

ट्रम्पद्वारा युरोपेली वस्तुहरूमा ५० प्रतिशत भन्सार कर लगाउने चेतावनीप्रति युरोपेली संघको गम्भीर आपत्ति

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युरोपेली संघका सामानहरूमा ५० प्रतिशत भन्सार कर लगाउने प्रस्ताव ल्याइएपछि युरोपेली संघ तथा त्यसका सदस्य राष्ट्रहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यस्तो प्रकारको दबावले दुई पक्षबीचको व्यापार सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत युरोपेली संघले व्यापारमा अमेरिकामाथि अनुचित लाभ उठाएको आरोप लगाउँदै सन् २०२५ जुन १ बाट लागू हुने गरी ५० प्रतिशत भन्सार कर सिफारिस गरिएको बताएका थिए।

वर्तमान अवस्थामा दुवै पक्षबीच व्यापारसम्बन्धी वार्ता निष्क्रिय अवस्थामा रहेको छ। अमेरिकाले युरोपेली बजारमा अमेरिकी व्यवसायका लागि खुलापन माग गरिरहेको छ भने युरोपेली संघले आपसी हितमा आधारित सम्झौताको पक्ष लिँदै आएको छ।

युरोपेली आयोगका व्यापार तथा आर्थिक सुरक्षा सम्बन्धी आयुक्त मारोस सेफ्चोभिकले सामाजिक सञ्जालमा लेख्दै युरोपेली संघ आफ्ना स्वार्थको संरक्षण गर्न पूर्ण रूपमा तयार रहेको बताए।

उनले लेखे, ‘दुई देशबीचको व्यापार आपसी सम्मानमा आधारित हुनुपर्छ, न कि धम्की र दबाबमा। हामी दुवै पक्षका लागि लाभदायक सम्झौता गर्न इमान्दार प्रयत्न गरिरहेका छौं।’

युरोपेली संसदको अन्तर्राष्ट्रिय व्यापार समितिका अध्यक्ष बर्न्ड लांगेले भने, ‘हामी छिट्टै अमेरिकाको भ्रमणमा जाँदैछौं, जसबाट युरोपेली संघको व्यापार नीति सम्बन्धमा भएका केही भ्रमहरू हटाउन सकिनेछ।’

उनले थप भने, ‘यदि राष्ट्रपति ट्रम्प वार्ता र सहकार्य चाहनुहुन्छ भने युरोप सधैं तयार छ। तर यदि उहाँ केवल आफ्नो चाहनालाई हामीबाट अनुमोदन गराउन चाहनुहुन्छ भने, त्यो मार्ग उपयुक्त हुने छैन।’

आयरल्याण्डका प्रधानमन्त्री मिचेल मार्टिनले ट्रम्पको घोषणालाई अत्यन्त निराशाजनक भनेका छन्। उनले यस्तो किसिमको करले विश्वकै एक प्रमुख व्यापारिक सम्बन्धमा गम्भीर क्षति पु(याउने र अन्तर्राष्ट्रिय बजारमा अस्थिरता ल्याउने चेतावनी दिए।

फ्रान्सका वैदेशिक व्यापार सम्बन्धी राज्यमन्त्री लोरेन्ट सैंट–मार्टिनले समेत ट्रम्पको चेतावनी वार्ताको यो चरणमा सहयोगी नहुने भन्दै टिप्पणी गरे। उनले युरोपेली संघले द्वन्द्व चर्काउने प्रयास नगर्ने स्पष्ट पार्दै आवश्यक परे उचित प्रतिकारात्मक उपायहरू अवलम्बन गरिने बताए।

जर्मनीकी अर्थ तथा ऊर्जा मन्त्री काथरिना राइखले भने, ‘भन्सार करको झगडाले कसैको पनि जित हुँदैन। यस्तो कदमले अमेरिका र युरोप दुवैलाई समान रूपमा हानि पुर्‍याउँछ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi