काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाले नियुक्त भएको तीन महिनामा करिब एक दर्जन नयाँ कामको सुरुवात गरेका छन् । फागुन १२ गते आगामी चार वर्षका लागि केपी ओली नेतृत्व सरकारले नियुक्त गरेका ओझाले करिब एक दर्जन कामको सुरुवात गरेका छन् ।
युवा नेतृत्वमा रूपमा हेरिएका ओझाले बीमकको प्रभावकारी निग्रानी बढाउनका लागि भन्दै एकीकृत निर्देशक तयार गर्ने कामको सुरुवात गरेका छन् ।प्राधिकरणले अहिलेसम्म यो व्यवस्थाको सुरुवात गरेको थिएन ।
अहिले अध्यक्ष ओझाले आन्तरिक रुपमा एकीकृत निर्देशनको कामका लागि तयारी गरिरहेको जनाएका छन् । आगामी आर्थिक वर्षदेखि यो कार्यान्वयमा आउने उनको भनाइ छ ।
अध्यक्ष ओझाले बीमाको तथ्यांकलाई पारदर्शी बनाउने गरी बीमा प्रतिबिम्ब प्रकाशन सुरु गरेका छन् । यसमा बीमा क्षेत्रका पछिल्ला तथ्याङ्क अद्यावधिक गराइने जनाइएको छ । साथै बीमा प्राधिकरणमा परेका उजुरी, फैसलाको अवस्था, बीमा कम्पनीमा गरेको निरीक्षण लगायतका विषय समावेश गरिने जनाइएको छ ।
यस्तै ओझा अध्यक्ष भएर आएपछि प्राधिकरणका कर्मचारीबीच प्रभावकारी समन्वय अघि बढाउनका लागि प्रत्येक शुक्रबार नेतृत्व विकास तालिम सुरु भएको छ ।
यस्तै, बीमासम्बन्धी विवादलाई पारदर्शी रुपमा समाधान गर्न इजलासको अभ्यास सुरु हुने क्रममा रहेको छ । केही समयमा नै यो काम सुरु हुने अध्यक्ष ओझाले बनाए। यसका लागि केही कानुन निर्माण लगायतका काम भइरहेको बताइएको छ।
ओझा अध्यक्ष भएपछि बीमकको लगानीसम्बन्धी काम गर्ने छुट्टै डेडिकेटेड शाखा स्थापना गरिएको छ । त्यसले बीमकले गर्ने लगानीलाई सूक्ष्म रुपमा अध्ययन गर्ने तथा बीमकबाट हुने लगानीलाई पारदर्शी बनाउन सहयोग गरेको जनाइएको छ ।
बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीमा हुने गलत अभ्यासलाई निरुत्साहित गर्न विशेष सुपरभिजन सुरु गरेको छ । हाल भइरहेको सुपरिभजनले नगद फिर्ता गर्ने गलत अभ्यासलाई निरुत्साहित गने जनाइएको छ ।
ओझा अध्यक्ष भएर आएपछि बीमा सम्बन्धी विवाद समाधानको लागी प्राधिकरणमा मेलमिलापसम्बन्धी काम गर्ने छुट्टै शाखा स्थापना गरेको छ । त्यसले बीमा प्राधिकरणमा भएका विवाद समाधानमा सहयोग गरिरहेको छ ।
यसअघि बीमा प्राधिकरणले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरेको थिएन । अन्य निकायले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएका छन् ।योपटक प्राधिकरणले पनि त्यसको थालनी गरेको छ । अध्यक्ष ओझाका अनुसार बीमाको बार्षिक नीति तथा कार्यक्रम प्रकाशित हुने क्रममा रहेको छ ।
यस्तै, प्राधिकरणको नियमन र सुपरभिजन क्षमता बलियो बनाउँदै बीमकमा भएका गलत अभ्यासलाई निरुत्साहित गर्ने गरी संगठन संरचनामा सुधार गर्ने प्रतिवेदन तयार भई कार्यान्वयनका लागी अर्थ मन्त्रालय पठाउने चरणमा रहेको अध्यक्ष ओझाले बताए ।
ओझाका अनुसार प्राधिकरणबाट नियमित रुपमा प्रवाह हुने सेवाहरु विगतभन्दा छिटो प्रभाव भइरहेका छन् । यस्तै विदेशी मुद्रा अपचलनको जोखिम कम गर्न पुनर्बीमाको निस्सा अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरिएको अध्यक्ष ओझाले बताए ।






प्रतिक्रिया दिनुहोस्